काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातक र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमका लागि यसअघि निर्धारण गरिएको एकीकृत शिक्षण शुल्कलाई नै निरन्तरता दिएको छ। आयोगले २०७७ माघ २९ र २०७८ जेठ २८ गतेको निर्णयबाट निर्धारण गरी २०७९ मङ्सिर १५ गतेको निर्णयबाट समायोजन गरिएको शुल्क नै हाल कार्यान्वयनमा रहेको स्पष्ट पारेको हो।
यसैबीच आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा योग्यताक्रमअनुसार सार्वजनिक गर्न थालेको छ। गत कात्तिक दोस्रो साता सञ्चालन भएको परीक्षामा सहभागी परीक्षार्थीमध्ये योग्यताक्रममा परेकाहरूको नतिजा क्रमशः प्रकाशित भइरहेको आयोगले जनाएको छ।
आयोगका अनुसार सबै विषयको नतिजा सार्वजनिक गर्न करिब एक साता लाग्नेछ। परीक्षार्थीले आफ्नो अनलाइन प्रोफाइलमार्फत पनि नतिजा हेर्न सक्नेछन्।
आयोगले सार्वजनिक गरेको शिक्षण शुल्क विवरणअनुसार स्नातक तहमा एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० रुपैयाँ र उपत्यकाबाहिर ४५ लाख ९५ हजार ७२० रुपैयाँ शुल्क कायम गरिएको छ। त्यस्तै, बीडीएसका लागि २० लाख ९२ हजार २९० रुपैयाँ, बीएस्सी नर्सिङका लागि १० लाख ३६ हजार रुपैयाँ र बीएएएमएसका लागि ११ लाख ३१ हजार ९३० रुपैयाँ शुल्क तोकिएको छ।
स्नातक तहकै अन्य कार्यक्रमतर्फ बीएनएस/पीबीएनका लागि ५ लाख १८ हजार रुपैयाँ र फार्म डीका लागि ६ लाख ७३ हजार ४०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। बीपीटी, बीएस्सी एमआईटी, बीएस्सी एमएलटी, बी. मेडिकल माइक्रोबायोलोजी, बी. मेडिकल बायोकेमिस्ट्री, बी. फार्मेसी, बीपीएच, बी. अप्टोमेट्री, बी. परफ्युजन टेक्नोलोजी र बासल्पका लागि प्रतिकार्यक्रम ७ लाख ७७ हजार रुपैयाँ शुल्क कायम छ।

स्नातकोत्तर तहमा एम. फार्मेसीका लागि ५ लाख १९ हजार ६६० रुपैयाँ शुल्क तोकिएको छ। एमएस्सी नर्सिङ/एमएन, एमपीएच, मास्टर अफ फिजियोथेरापी र मास्टर अफ अप्टोमेट्रीका लागि ९ लाख २० हजार २३० रुपैयाँ तथा एमडी आयुर्वेदका लागि ९ लाख ५७ हजार ६४० रुपैयाँ शुल्क कायम गरिएको छ।
त्यसैगरी एमएस्सी मेडिकल माइक्रोबायोलोजी, एमएस्सी मेडिकल बायोकेमिस्ट्री, एमएस्सी एमआईटी र एमएस्सी एमएलटी अध्ययनका लागि ७ लाख ५७ हजार ८३० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
स्नातकोत्तर तहका आधारभूत तथा क्लिनिकल विषयमध्ये एमडी बायोकेमिस्ट्री/क्लिनिकल बायोकेमिस्ट्री, एमडी कम्युनिटी मेडिसिन, एमडी फरेन्सिक मेडिसिन, एमडी माइक्रोबायोलोजी/क्लिनिकल माइक्रोबायोलोजी, एमडी फार्माकोलोजी/क्लिनिकल फार्माकोलोजी, एमडी फिजियोलोजी/क्लिनिकल फिजियोलोजी, एमएस एनाटोमी/क्लिनिकल एनाटोमी र एमडी हस्पिटल एड्मिनिस्ट्रेसनका लागि १० लाख ८५ हजार ८७० रुपैयाँ शुल्क तोकिएको छ।
यस्तै, एमडी पेडियाट्रिक्स, एनेस्थेसियोलोजी, डर्माटोलोजी, जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन, इन्टरनल मेडिसिन, प्याथोलोजी/क्लिनिकल प्याथोलोजी, साइकियाट्री, रेडिएसन अन्कोलोजी, रेडियोलोजी, एमडी/एमएस अब्स्टेट्रिक्स एन्ड गाइनोकोलोजी, अप्थाल्मोलोजी, इएनटी, एमडिएसका विभिन्न विधा, एमएस जनरल सर्जरी र एमएस अर्थोपेडिक्सका लागि २३ लाख ८१ हजार ७६० रुपैयाँ शिक्षण शुल्क कायम गरिएको आयोगले जनाएको छ।








