काठमाडौँ । शैक्षिक सत्र २०८३/०८४ मा एमबीबीएस अध्ययनका लागि १० हजार ३२२ विद्यार्थी योग्य भएका छन्। चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण उनीहरू देशभित्रका मेडिकल कलेज तथा प्रतिष्ठान र विदेशमा अध्ययन गर्न योग्य भएका हुन्।
आयोगले परीक्षाका लागि न्यूनतम कटअफ अङ्क ५६.२५ निर्धारण गरेको थियो। यस वर्ष एमबीबीएस अध्ययनका लागि कुल २ हजार ७४५ सिट निर्धारण गरिएको छ। तीमध्ये ९०५ सिट विदेशी विद्यार्थीका लागि र १ हजार ८४० सिट नेपाली विद्यार्थीका लागि छुट्याइएको छ। परीक्षामा सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थीले १८७.५ अङ्क प्राप्त गरेका छन्।
गत कात्तिक १४ गते सञ्चालन भएको परीक्षामा केही परीक्षार्थीले उत्तरपुस्तिकामा बबल भर्ने क्रममा त्रुटि गरेको आयोगले जनाएको छ। आयोगका अनुसार १०७ जना परीक्षार्थीले रोल नम्बरको बबल सही तरिकाले भरेका थिएनन्। त्यस्तै, ११ जनाले सेट र रोल नम्बर दुवैको बबल सही तरिकाले भरेका थिएनन् भने ६९ जनाले सेटको बबल सही तरिकाले भरेका थिएनन्।
अब नतिजामा चित्त नबुझेका विद्यार्थीले सुरुमा पुनर्योगका लागि निवेदन दिन सक्नेछन्। त्यसपछि आयोगले जनजाति, अपाङ्गता भएका व्यक्ति, महिला तथा पिछडिएको क्षेत्रलगायतका समूहगत आधारमा नतिजा प्रकाशन गर्नेछ। समूहगत नतिजा सार्वजनिक भएपछि विद्यार्थीलाई नतिजामाथि दाबी विरोध गर्ने अवसर दिइनेछ। दाबी विरोधपछि अन्तिम नतिजा प्रकाशन हुनेछ।

अन्तिम नतिजामा उत्तीर्ण विद्यार्थीले कलेजमा उपलब्ध सिटअनुसार प्राथमिकीकरण भर्नुपर्नेछ। आयोगले कलेजअनुसार समूहगत सिट संख्या सार्वजनिक गरेपछि भर्ना प्रक्रिया अघि बढ्नेछ। सुरुमा विदेशी विद्यार्थी कोटातर्फ म्याचिङ हुनेछ। ओपन हाउस म्याचिङमार्फत विदेशी विद्यार्थीले आफूले चाहेको कलेज छनोट गर्न पाउनेछन्।
विदेशी विद्यार्थी कोटामा भर्ना हुन नसकेर खाली रहेका सिटमा नेपाली विद्यार्थीले अवसर पाउनेछन्। त्यसपछि छात्रवृत्तिका लागि अनलाइनमार्फत म्याचिङ हुनेछ। बाँकी रहेका सिटमा र्यापअप तथा वैकल्पिक म्याचिङ प्रक्रिया सञ्चालन गरिनेछ।
आयोगका सूचना अधिकारी अर्जुन ढकालले भर्नासम्बन्धी सबै प्रक्रिया पूरा हुन अझै एक साता लाग्ने बताए। नतिजा सार्वजनिक भए पनि कलेजअनुसार सिट र समूह छुट्याएर उत्तीर्ण विद्यार्थीलाई जानकारी गराउन बाँकी रहेको उनले बताए।








