काठमाडौँ । विकसित देशहरूमा समेत दादुरा सङ्क्रमण तीव्र रूपमा फैलिन थालेपछि बालबालिकालाई दादुरा–रुबेलाबाट जोगाउन नियमित खोपका दुवै मात्रा लगाउन स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन् । केही देशले दादुरा निवारणको मान्यतासमेत गुमाइसकेको अवस्थामा नेपालमा पनि खोपको पूर्ण कभरेज सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।
खोपको अपूर्ण पहुँच, खोपबारे फैलिएका भ्रम र गलत सूचना तथा बालबालिकाले दुवै मात्रा खोप नलगाउने प्रवृत्तिका कारण दादुरा सङ्क्रमण बढिरहेको औँल्याइएको छ । त्यस्तै, ज्वरो र शरीरमा बिमिरा देखिएका शङ्कास्पद बिरामीको समयमै पहिचान तथा रिपोर्टिङ नहुँदा पनि सङ्क्रमण नियन्त्रणमा चुनौती थपिएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले सबै बालबालिकालाई नियमित खोप तालिकाअनुसार दादुरा–रुबेलाविरुद्धको खोप लगाउन आग्रह गरेको छ ।
नियमित खोप तालिकाअनुसार बालबालिकालाई नौ महिनामा पहिलो मात्रा र १५ महिनामा दोस्रो मात्रा गरी दुई मात्रा खोप लगाउनुपर्छ । महाशाखाले लक्षित सबै बालबालिकाले निःशुल्क र सुरक्षित खोप लगाएको सुनिश्चित गर्न सम्बन्धित निकाय तथा अभिभावकलाई आग्रह गरेको छ ।








