काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्की बालबालिकामाथि हुने हिंसा अन्त्य तथा जनस्वास्थ्य संरक्षणसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन फिलिपिन्स जाने भएकी छन्।
फिलिपिन्सको राजधानी मनिलामा नोभेम्बर १८ र १९ तारिखमा आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन्। फिलिपिन्स सरकारको आयोजना तथा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) को सहआयोजनामा सम्मेलन हुन लागेको हो।

सम्मेलनमा विभिन्न देशका मन्त्री, उच्च सरकारी अधिकारी, सांसद तथा बालअधिकार र जनस्वास्थ्य क्षेत्रमा कार्यरत सरोकारवालाहरू सहभागी हुनेछन्।

मुख्य सम्मेलनअघि नोभेम्बर १६ मा युनाइट, डब्ल्यूएचओ र प्रोजेक्ट एभ्रिवनको सहकार्यमा विशेष संसदीय नेतृत्व कार्यक्रम आयोजना हुँदैछ। चिल्ड्रेन्स इन्भेस्टमेन्ट फन्ड फाउन्डेसनको सहयोगमा सञ्चालन हुने कार्यक्रममा बालबालिकामाथि हुने हिंसालाई जनस्वास्थ्यको प्रमुख प्राथमिकताका रूपमा सम्बोधन गर्ने विषयमा छलफल गरिनेछ।
कार्यक्रममा बालबालिकामाथि हुने हिंसा रोकथाम, हिंसापीडित बालबालिकाका लागि प्रभावकारी स्वास्थ्य तथा संरक्षण प्रणाली निर्माण, आवश्यक कानुनी व्यवस्था, दिगो वित्तीय स्रोतको सुनिश्चितता र संसदीय निगरानीका विषयमा छलफल हुनेछ। विभिन्न देशका सांसद तथा विज्ञहरूले यस क्षेत्रमा भएका अभ्यास र अनुभवसमेत आदानप्रदान गर्नेछन्।
बालबालिकामाथि हुने हिंसाले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य, शिक्षा, सुरक्षा र सामाजिक विकासमा तत्कालीन र दीर्घकालीन असर पार्ने गरेको छ। यसको रोकथामका लागि राजनीतिक प्रतिबद्धता, प्रभावकारी कानुन तथा स्वास्थ्य, शिक्षा, न्याय र सामाजिक संरक्षणका निकायबीच समन्वय आवश्यक रहेको आयोजकले जनाएका छन्।







