चितवन । भरतपुर केन्द्रीय अस्पतालको इतिहासमा ३ पटकसम्म मेडिकल सुपरिटेण्डेण्टको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका चितवनका अग्रज चिकित्सक प्रा.डा. कृष्ण प्रसाद पौडेल ‘विशिष्ट व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन् ।
चितवनको भरतपुरमा क्रियाशील सामाजिक संस्था सरिता ईभेन्ट्सले आयोजना गरेको ‘विशिष्ट व्यक्तित्व सम्मान तथा सांस्कृतिक कार्यक्रम – २०८३’ मा डा. पौडेललाई ‘स्वास्थ्य चिकित्सा सम्मान’ प्रदान गरिएको हो ।

शनिवार भरतपुरमा एक विशेष समारोहका बीच उनलाई सम्मान गरिएको हो । संस्थाको नारा “शिक्षा, सिप र मेहनतलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान” रहेको छ ।
यस्तो छ सम्मानपत्र
सरिता ईभेन्ट्सद्वारा प्रदान गरिएको सम्मानपत्रमा डा. पौडेलको लामो चिकित्सकीय योगदानको उच्च मूल्यांकन गरिएको छ ।
सम्मानपत्रमा भनिएको छ, “विगत लामो समयदेखि चितवन जिल्लामा रहेर समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले चिकित्सा क्षेत्रमा निरन्तर रूपमा अग्रसर रही आफ्नो ज्ञान, सीप, दक्षता र समर्पणका साथ मानव सेवा, सामाजिक उत्तरदायित्व, परोपकार कार्यमा देखाउनु भएको सेवाभाव, समर्पण र निस्वार्थ कर्मप्रति उच्च सम्मान प्रकट गर्दै सरिता ईभेन्ट्सद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य चिकित्सा सम्मान द्वारा सम्मानित गरिएको छ।”

संस्थाकी प्रबन्ध निर्देशक लिलावती आचार्य (सरिता) र कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रीले संयुक्त रूपमा सम्मान प्रदान गरिएको थियो ।
को हुन् प्रा.डा. पौडेल ?
रत्ननगर, चितवन निवासी हाडजोर्नी तथा नशारोग विशेषज्ञ प्रा.डा. कृष्ण प्रसाद पौडेल चितवनको स्वास्थ्य क्षेत्रमा एक परिचित नाम हो ।
उनले भरतपुर केन्द्रीय अस्पताल जस्तो ठूलो संघीय अस्पतालमा ३ पटक मेडिकल सुपरिटेण्डेण्ट (मेसु) भएर नेतृत्व गरिसकेका छन् । उनको कार्यकालमा अस्पतालमा थुप्रै नयाँ सेवा विस्तार, भौतिक पूर्वाधार सुधार र जनशक्ति व्यवस्थापनका महत्त्वपूर्ण कामहरु भएका थिए ।
चिकित्सकहरुका नेता: उनी नेपाल चिकित्सक संघ, चितवन शाखाका पूर्व अध्यक्ष समेत हुन् । अध्यक्ष रहँदा उनले चिकित्सकहरुको पेशागत हकहित, सुरक्षा र एकताका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थियो ।
सेवाभावी चिकित्सक: दशकौंदेखि वरिष्ठ स्वास्थ्यकर्मीको रुपमा हजारौं बिरामीको उपचारमा संलग्न डा. पौडेललाई बिरामीले अभिभावकको रुपमा मान्ने गर्दछन् । सो कार्यक्रममा डा. पौडेलसँगै अन्य व्यक्तिलाई समेत सम्मान गरिएको थियो ।







