चितवन । चितवनस्थित भरतपुर केन्द्रीय अस्पताल र त्यहाँको सर्जरी वार्ड । बिहान सबेरैदेखि बिरामीको भीड बाक्लो हुन्छ । कोही हर्नियाको असह्य पीडाले छटपटाइरहेका हुन्छन् भने कोही पित्तथैलीको पत्थरीको भयले आत्तिएका हुन्छन् । त्यही व्यस्तता र कोलाहलबीच एक युवा डाक्टर हँसिलो मुहारमा प्रवेश गर्छन् — “डा. प्रवेश जोशी” र उनी बिरामीको नाडी मात्रै समाउँदैनन्, उनीहरूको मनको डरसमेत पन्छाउँछन् ।
प्रिय युवा डाक्टर
बिरामीहरू स्नेह र आदरका साथ उनलाई “डा. प्रवेश जोशी साब” भनेर पुकार्छन् । हेर्दा भर्खरका युवा । लर्के जवान, कतिले अप्रेसन गर्ने डाक्टर भनेर समेत पत्याउदैनन् । तर, छोटो समयमै आफ्नो असाधारण सीप, सेवाभाव र मिजासिलो स्वभाभका कारण उनी अस्पतालका मात्र नभई सम्पूर्ण चितवनवासीका प्रिय युवा डाक्टर बनेका छन् ।
हाल भरतपुर अस्पतालमा जनरल सर्जनका रूपमा कार्यरत डा. जोशी चितवनकै अग्रणी निजी अस्पताल सप्तगण्डकी अस्पतालमा समेत आवद्ध छन् । शल्य चिकित्सा क्षेत्रमा औपचारिक यात्रा सुरु गरेको जम्मा दुई वर्षको अवधिमा उनले ६०० भन्दा बढी सफल शल्यक्रियाहरू सम्पन्न गरिसकेका छन्, जुन नेपाली स्वास्थ्य क्षेत्रमा एउटा उल्लेखनीय उपलब्धि मानिन्छ ।
ममिको ‘सेतो कोट’बाट कोरिएको डाक्टर बन्ने सपना
डा. जोशीको यो सफलता कुनै आकस्मिकता होइन; यो त बाल्यकालदेखि नै मनमा रोपिएको समर्पणको परिणाम समेत हो ।
उनको ममि बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नर्सिङ इन्चार्जको रूपमा लामो समयदेखि कार्यरत छिन् । स्कुलका लामो बिदाहरूमा ममिसँगै अस्पताल जानु, सेतो कोट लगाएका चिकित्सकहरूको व्यस्तता र बिरामीको जीवन बचाउने संघर्षलाई नजिकबाट नियाल्नु नै उनको बाल्यकालको सबभन्दा ठूलो प्रेरणा बन्यो ।

“ममिले बिरामीलाई आफ्नै परिवारको सदस्य जस्तो माया गरेर स्याहार गरेको देख्दा लाग्थ्यो, योभन्दा पवित्र र महान् पेशा अरू केही हुन सक्दैन । त्यहीँबाट मनमा डाक्टर बन्ने बीउ रोपिएको हो,” डा. जोशी बाल्यकालका दिनहरू स्मरण गर्छन् ।
कृष्णपुरदेखि पाकिस्तानको प्रतिष्ठित ‘किंग एडवर्ड’सम्मको शैक्षिक यात्रा
चितवनको भरतपुर-७, कृष्णपुरमा निवासी डा. जोशीको शैक्षिक पृष्ठभूमि पूर्ण रूपमा स्वदेशी माटो र अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षाको संगम हो ।
प्रारम्भिक तथा माध्यमिक शिक्षा: स्मल हेभन स्कूल, भरतपुरमा गरे । उच्च माध्यमिक शिक्षा (+२ विज्ञान): अर्किड साइन्स कलेज, भरतपुर र एमबीबीएस (MBBS): चितवन मेडिकल कलेज (CMC), भरतपुरबाट पुरा गरे । त्यस्तैगरी स्नातकोत्तर (MS in General Surgery): पाकिस्तानको सबैभन्दा पुरानो र प्रतिष्ठित चिकित्सा विश्वविद्यालय — किंग एडवर्ड मेडिकल युनिभर्सिटी (KEMU) बाट हासिल गरे ।
विदेशको प्रतिष्ठित विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेपछि विकसित मुलुकमै करिअर बनाउने थुप्रै अवसरलाई पन्छाउँदै उनले आफ्नो ज्ञान र सीप आफ्नै देश र माटोमा समर्पण गर्ने अठोट लिए र सीधै भरतपुर फर्केर सेवा थाले ।
डा. जोशीले गर्ने प्रमुख शल्यक्रियाहरू: प्रविधि र निपुणता
आजका आधुनिक चिकित्सकहरूमाझ पनि डा. जोशीले आफूलाई केही विशिष्ट, जटिल र भविष्यमुखी शल्यक्रिया (Surgery) विधाहरूमा केन्द्रित गरेका छन्ः
१. एडभान्स ल्याप्रोस्कोपिक सर्जरी (दुरबिन प्रविधिबाट शल्यक्रिया)
परम्परागत रूपमा पेट चिरेर गरिने ठूला र पीडादायी अप्रेसनहरूको विकल्पमा उनी दुरबिन प्रविधि (Laparoscopic Surgery) लाई प्राथमिकता दिन्छन् ।
कसरी हुन्छ यो सर्जरी ?
यस विधिमा बिरामीको शरीरमा ठूला चिराहरू (अप्रेसन) गर्नु पर्दैन । पेटमा स-साना प्वालहरू (Keyhole) बनाएर हाई-डेफिनेसन क्यामेरा र विशेष उपकरणहरू छिराएर भित्री अंगहरूको अप्रेसन गरिन्छ ।
कुन-कुन रोगमा यस्ता अप्रेसन गरिन्छ ?
पित्तथैलीको पत्थरी (Gallbladder Stones), एपेन्डिसाइटिस (Appendicitis), र विभिन्न प्रकारका हर्निया (Hernia) का शल्यक्रियाहरू यसै प्रविधिबाट गरिन्छन् ।

यस्ता अप्रेसनका के कस्ता फाइदाहरू छन् ?
बिरामीलाई यस्ता अप्रेसनबाट दुखाइ अति कम हुन्छ । साथै घाउ छिटो निको हुन्छ । अस्पतालमा बसाइ छोटिन्छ र बिरामी छिटोभन्दा छिटो आफ्नो काम तथा दैनिकीमा फर्कन सक्षम हुन्छन् ।
२. पेटको पर्खाल पुनर्निर्माण (Abdominal Wall Reconstruction – AWR)
यो विधा डा. जोशीको सबैभन्दा विशेष रुचिको र दख्खल भएको क्षेत्र समेत हो ।
कसरी हुन्छ यस्ता अप्रेसन ?
धेरै पटक अप्रेसन भइसकेका, ठूला, जटिल र बारम्बार बल्झिरहने हर्निया (Incisional / Complex Hernia) का बिरामीहरूका लागि यो विधा अति आवश्यक मानिन्छ । यसमा बिरामीको कमजोर वा फाटेको पेटको पर्खाललाई आधुनिक विशेष जाल (Mesh) को प्रयोग गरी र ‘कम्पोनेन्ट सेपरेसन’ (Component Separation) प्रविधिमार्फत बलियो र प्राकृतिक रूपमा पुनर्निर्माण गरिन्छ ।
जटिल शल्यक्रिया चितवनमै
नेपालमा यस विधाका दक्ष जनशक्ति औंलामा गन्न सकिने मात्र छन् । चितवन तथा आसपासका क्षेत्रका बिरामीहरू यसैको उपचारका लागि महँगो खर्च गरेर काठमाडौं धाउन बाध्य थिए । डा. जोशीले यही बाध्यताको अन्त्य गर्दै चितवनमै यस्ता जटिल शल्यक्रियाहरू सफलतापूर्वक सम्पन्न गर्दै छन् ।

उनी भन्छन्, “हर्नियालाई सामान्य समस्या ठानेर बेवास्ता गर्ने प्रवृत्ति छ, तर जटिल हर्नियाले बिरामीको दैनिक जीवन नै कष्टकर बनाउँछ। आधुनिक प्रविधि र वैज्ञानिक विधिमार्फत यसको दिगो र सुरक्षित समाधान सम्भव छ ।”
६०० भन्दा बढी शल्यक्रियाको अनुभव: प्राविधिक निपुणता र मानवीय आत्मीयता
मात्र दुई वर्षको अवधिमा जनरल, आकस्मिक तथा जटिल गरी ६०० भन्दा बढी शल्यक्रियाहरू सम्पन्न गर्नु उनको उच्च कार्यक्षमताको प्रमाण समेत हो । अप्रेसन थिएटरभित्रको यो अनुभवले उनलाई प्राविधिक रूपमा मात्र होइन, मानवीय रूपमा समेत एक परिपक्व चिकित्सक बनाएको छ ।
उनका सहकर्मी तथा बिरामीहरूका अनुसार डा. जोशी शल्यक्रिया गर्नुअघि बिरामीलाई यथेष्ट समय दिनुहुन्छ । अप्रेसन कसरी गरिन्छ ?, यसका प्रक्रियाहरू के हुन् ? र शल्यक्रिया पश्चात् के-कस्ता कुरामा सावधानी अपनाउनुपर्छ भन्ने कुरा उनले अत्यन्त सरल र बुझाउने भाषामै प्रष्ट पार्छन् । यही आत्मीय व्यवहारका कारण अप्रेसनको डरले आत्तिएका बिरामीहरू पनि उनको मुखबाट सान्त्वनाका दुई शब्द सुनेपछि पूर्ण रूपमा ढुक्क हुन्छन् ।
दूरगामी सोच: चितवनलाई ‘जटिल हर्निया रिफरल सेन्टर’ बनाउने अभियान
डा. जोशीको लक्ष्य केवल दैनिक ओपिडी चलाउनु वा सीमित अप्रेसनहरू गर्नु मात्र होइन । उनको दीर्घकालीन भिजन निकै फराकिलो छ ।
“मेरो मुख्य सपना चितवनलाई जटिल हर्निया र पेटको पर्खाल पुनर्निर्माण शल्यक्रियाको लागि एक प्रमुख ‘रिफरल सेन्टर’ का रूपमा विकसित गर्नु हो । यदि हामीले आफ्नै भरतपुरमा अन्तर्राष्ट्रियस्तरको, प्रमाणमा आधारित (Evidence-Based) र सुरक्षित स्वास्थ्य सेवा दिन सक्यौं भने हजारौं बिरामीको समय, झन्झट र अनावश्यक आर्थिक भार जोगिन्छ,” उनी दृढताका साथ भन्छन् ।
आफ्नो यसै लक्ष्यलाई मूर्तरूप दिन उनी नयाँ अन्तर्राष्ट्रिय जर्नलहरू, मेडिकल वर्कसपहरू र नवीनतम वैज्ञानिक अनुसन्धानहरूबाट आफूलाई निरन्तर अपडेट राख्दै आएका छन् ।
अप्रेसन थिएटर बाहिर: एक ऊर्जावान र अनुशासित युवा डाक्टर जोशी
दिनभरि शल्यक्रियाका गम्भीर र तनावपूर्ण घडीहरूसँग जुधे पनि डा. जोशी अप्रेसन थिएटर बाहिर उत्तिकै ऊर्जावान र सन्तुलित जीवनशैली अपनाउछन् । तनावमुक्त रहन र मानसिक एकाग्रता जोगाउन उनी खेलकुदलाई आफ्नो प्रमुख साथी बनाउछन् । क्रिकेट, ब्याडमिन्टन र टेबल टेनिस उनका प्रिय खेल हुन् । नियमित शारीरिक व्यायाम (Gym & Fitness) लाई उनले आफ्नो दैनिक दिनचर्याको अनिवार्य अङ्ग बनाएका छन् ।

“एउटा सर्जनको हात स्थिर र मन पूर्ण रूपमा शान्त हुनुपर्छ । खेलकुद र नियमित व्यायामले मलाई जीवनमा त्यही एकाग्रता, धैर्य र अनुशासन सिकाएको छ,” उनी मुस्कुराउँदै बताउँछन् ।
मेडिकल हब चितवनमा डा. प्रवेशको भविष्य !
नेपालको चिकित्सा क्षेत्र, विशेष गरी चितवन जस्तो मेडिकल हबमा युवा, दक्ष, उच्च शिक्षित र सेवाभावी सर्जनहरूको ठूलो आवश्यकता छ । डा. प्रवेश जोशीले आफ्नो उच्च अध्ययन, निरन्तर सिक्ने अभिलाषा र बिरामीप्रतिको संवेदनशील तथा आत्मीय व्यवहारले त्यो खाँचोलाई उत्कृष्ट ढङ्गले पूरा गर्दै छन् । विश्वास, समर्पण र आधुनिक चिकित्सा विज्ञानको यो यात्राले चितवनको मात्र होइन, समग्र देशको शल्यक्रिया सेवाको भविष्यलाई अझ उज्यालो बनाउने निश्चित छ । डा. प्रवेश जोशीको उज्ज्वल भविष्यको शुभकामना ।








