इलाम । चिकित्सा शिक्षा सुधारको माग राख्दै २५औँ सत्याग्रहमा बसेका प्रा. डा. गोविन्द केसी स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना भएका छन्।
अनशनको तेस्रो दिन हिजाे उनलाई इलाम अस्पताल भर्ना गरिएको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमिताभ ठाकुर नेतृत्वको टोलीले उनको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल पुर्याएको हो।
सरकारले आफ्ना माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै डा. केसीले बिहीबार इलामस्थित नारायण मन्दिरमा सत्याग्रह सुरु गरेका थिए। सरकारले माग पूरा गर्न चासो नदिएपछि अनशन बस्नुपरेको उनले बताएका थिए।

डा. केसीले चिकित्सा शिक्षालाई व्यापारिक स्वार्थको साधन बनाउन नहुने बताउँदै यसमा कुनै सम्झौता स्वीकार्य नहुने अडान राखेका छन्।
‘चिकित्सा शिक्षा व्यापारिक स्वार्थको साधन होइन, नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको सेवामूलक क्षेत्र हो। यसको गुणस्तर, निष्पक्ष नियमन र सार्वजनिक संस्थाहरूको प्रभावकारी सञ्चालनमा कुनै सम्झौता स्वीकार्य हुन सक्दैन,’ उनले भनेका छन्।








