दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रविधिको माध्यमबाट विशेषज्ञ स्वास्थ्य सेवालाई आम नागरिकको पहुँचमा पुर्याउने उद्देश्यले टेलिमेडिसिन सेवा सुरु गरेको छ। यो सेवामार्फत अब बिरामीले आफू रहेकै स्थानबाट प्रतिष्ठानका विशेषज्ञ चिकित्सकसँग स्वास्थ्य परामर्श लिन सक्नेछन्।
सेवा शुभारम्भको पहिलो दिन शिवराज अस्पतालको अनुरोधमा प्रतिष्ठानको इन्टरनल मेडिसिन विभागका चिकित्सक डा. सञ्जय पौडेलले टेलिमेडिसिनमार्फत पहिलोपटक स्वास्थ्य परामर्श प्रदान गरेका थिए।
प्रतिष्ठानले सेवालाई नियमित र व्यवस्थित रूपमा सञ्चालन गर्न आफ्ना स्याटेलाइट अस्पताल तथा सामुदायिक स्वास्थ्य संस्थासँग समन्वय र सहकार्य गर्ने जनाएको छ। यसका लागि विभिन्न विभाग तथा शाखामा कार्यरत विशेषज्ञ चिकित्सकहरूको नियमित परामर्श तालिका तयार गरी दैनिक रूपमा टेलिमेडिसिन सेवा कक्ष सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले आगामी दिनमा लुम्बिनी प्रदेशका दुर्गम जिल्लाहरूमा समेत सेवा विस्तार गर्दै लैजाने जानकारी दिए।
सेवा सञ्चालनका लागि प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. सुरेश रसाइली, सहनिर्देशक डा. निरोज खनाल, कन्सल्टेन्ट फिजिसियन डा. सञ्जय पौडेल, टेलिमेडिसिन फोकल पर्सन डा. द्रोणाचार्य घिमिरेसहित अस्पताल प्रशासन र सूचना प्रविधि विभागले समन्वय गरेका थिए।

त्यस्तै, शिवराज अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अभिषेक मिश्रा तथा प्रशासकीय अधिकृत एवं मेडिकल अफिसर डा. दुर्गेशलाल चौधरीको पनि सेवा सञ्चालनमा भूमिका रहेको थियो।
डिजिटल प्रविधिमार्फत विशेषज्ञ तथा उपविशेषज्ञ स्वास्थ्य परामर्शलाई सहज, सुलभ र प्रभावकारी बनाउँदै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नु टेलिमेडिसिन सेवाको मुख्य उद्देश्य रहेको प्रतिष्ठानले जनाएको छ।
प्रविधिको पहुँच भएका स्वदेश तथा विदेशमा रहेका बिरामीले समेत यो सेवामार्फत प्रतिष्ठानका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परामर्श तथा उपचारसम्बन्धी सेवा लिन सक्नेछन्।
अस्पतालका निर्देशक सहप्राध्यापक डा. रसाइलीका अनुसार भौगोलिक दूरी र समयको बाध्यता कम गर्दै बिरामीले आफू रहेकै स्थानबाट प्रतिष्ठानका विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श लिन सक्ने व्यवस्था गरिएको छ।
त्यस्तै, सहनिर्देशक डा. निरोज खनालले यस सेवाले देश तथा विदेशमा रहेका बिरामीलाई सहज, सरल र सुलभ रूपमा गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताए।








