काठमाडौँ । नेपाललाई क्षेत्रीय मेडिकल हबका रूपमा विकास गर्ने उद्देश्यसहित सरकारले चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धन गर्ने भएको छ। यसका लागि सरकारले कार्यदल गठन गरी आवश्यक काम अघि बढाउने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले चिकित्सा सेवा पर्यटनको विकास र प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा सम्बन्धित मन्त्रालयका सचिव, निजी अस्पतालका सञ्चालक तथा प्रतिनिधिहरू सहभागी थिए।
बैठकमा गुणस्तरीय र सुलभ उपचार सेवा लिन नेपाल आउने विदेशी बिरामीका लागि चिकित्सा सेवा पर्यटनलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो।

यसका लागि आवश्यक नियमनकारी संरचना निर्माण गर्ने, अस्पतालको गुणस्तर र बिरामी सुरक्षासम्बन्धी मापदण्ड तय गर्ने तथा विदेशी बिरामी र उनीहरूका सहयोगीका लागि मेडिकल भिसाको व्यवस्था गर्ने विषयमा समेत छलफल भएको छ।
चिकित्सा सेवा पर्यटनको विकासले विदेशी मुद्रा आर्जनमा सहयोग पुग्नुका साथै नेपाली नागरिकले उपचारका लागि विदेश जानुपर्ने बाध्यता घटाउने र देशभित्रै विशेषज्ञ स्वास्थ्य सेवा सुदृढ गर्न मद्दत पुग्ने सरकारको अपेक्षा छ।
नेपाललाई चिकित्सा सेवा पर्यटनको भरपर्दो गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक नीतिगत तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखिएको सरकारले जनाएको छ।







