काठमाडौं । सर्पले टोकेपछि समयमै अस्पताल पुग्नुपर्नेमा झारफुक र घरेलु उपचारमा अल्झिँदा नेपालमा सर्पदंशबाट हुने मृत्युको जोखिम बढिरहेको छ। टोकेको ठाउँमा कसिलो गरी बाँध्ने, घाउ काट्ने वा मुखले विष चुस्ने जस्ता गलत अभ्यासले उपचारमा ढिलाइ गराउँदा बिरामीको ज्यानसमेत जाने गरेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट उपलब्ध विवरणअनुसार वैशाखयता मात्रै एक हजार ६४९ जनालाई सर्पले टोकेको छ भने ११३ जनाको मृत्यु भएको छ। सर्पदंशका घटना बढ्दै जाँदा समयमै उपचारमा पहुँच र समुदायस्तरको जनचेतना अभाव प्रमुख चुनौतीका रूपमा देखिएको छ।
ईडीसीडीको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार देशभर १० हजार १४४ वटा सर्पदंशका घटना दर्ता भएका थिए। आर्थिक वर्ष २०८०/८१ मा आठ हजार १८१ घटना दर्ता भएका थिए। दुई आर्थिक वर्षको तुलना गर्दा सर्पदंशका घटना एक हजार ९६३ अर्थात् करिब २४ प्रतिशतले बढेका छन्।
ईडीसीडीको जुनोटिक तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. अमृत पोखरेलका अनुसार सर्पदंशबाट हुने मृत्युको प्रमुख कारणमध्ये जनचेतनाको कमी र समयमै उपचार नपाउनु हो। अझै पनि सर्पले टोकेपछि अस्पताल जानुको सट्टा झारफुक गर्ने प्रवृत्ति कायम रहेको उनले बताए।
“पछिल्लो समय ग्लोबल वार्मिङका कारण सर्प र मानिसबीचको द्वन्द्व बढेको छ। पहिला तराईका क्षेत्रमा मात्र देखिने सर्पहरू तापक्रम बढ्दै जाँदा हिमाली क्षेत्रमा समेत देखिन थालेका छन्,” डा. पोखरेलले भने।

उनका अनुसार अव्यवस्थित सहरीकरणले पनि मानिस र सर्पबीचको सम्पर्क बढाएको छ। सर्पदंशपछि समयमै स्वास्थ्य संस्थामा नपुग्नु र परम्परागत उपचारमा विश्वास गर्नु मृत्युको जोखिम बढाउने प्रमुख कारण हुन्।
नेपालमा सर्पदंशको जोखिम सबैभन्दा बढी तराईका जिल्लामा देखिन्छ। खेतीपाती, घाँसदाउरा, घरवरपरका झाडी र खुला ठाउँमा काम गर्ने मानिस सर्पको सम्पर्कमा आउने सम्भावना बढी हुन्छ। राति भुइँमा सुत्ने, जुत्ता नलगाई हिँड्ने तथा घरभित्र सर्प पस्न सक्ने प्वाल र खुला ठाउँको व्यवस्थापन नगर्दा पनि जोखिम बढ्छ।
ईडीसीडीको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार सबैभन्दा बढी सर्पदंशका घटना कोसी प्रदेशमा दर्ता भएका छन्। कोसीमा दुई हजार ९८३, लुम्बिनीमा दुई हजार ४०७, गण्डकीमा एक हजार ४५६, मधेसमा एक हजार ३६६ र वाग्मतीमा एक हजार २३६ घटना दर्ता भएका छन्। कर्णालीमा ३२२ र सुदूरपश्चिममा ३७४ घटना देखिएका छन्।
स्वास्थ्य सेवा विभागको प्रतिवेदनमा नेपालमा वार्षिक करिब १५ हजार सर्पदंशका घटना हुने अनुमान गरिएको छ। तीमध्ये करिब १० प्रतिशत विषालु सर्पको टोकाइ हुने उल्लेख छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को अनुमानअनुसार नेपालमा हरेक वर्ष करिब २० हजार मानिस सर्पदंशमा पर्ने र एक हजारभन्दा बढीको मृत्यु हुने गर्छ। सरकारी निकायमा दर्ता भएका घटनाभन्दा अनुमानित संख्या बढी हुनुले सबै घटना औपचारिक स्वास्थ्य प्रणालीमा अभिलेख नहुने सम्भावना देखाउँछ।
ईडीसीडीको आर्थिक वर्ष २०६५/६६ देखि २०८२/८३ सम्मको उपलब्ध विवरणअनुसार यस अवधिमा एक लाख ६५ हजार ७१४ जना सर्पदंशको उपचारका लागि स्वास्थ्य संस्थामा पुगेका छन्।

नेपालमा पाइने ७९ प्रजातिका सर्पमध्ये २१ प्रजाति विषालु छन्। तीमध्ये पिट भाइपर, करेत, गोमन, कोरल र रसेल्स भाइपर प्रमुख विषालु समूहमा पर्छन्। सर्पले टोकेपछि देखिने लक्षण सर्पको प्रजाति र शरीरमा प्रवेश गरेको विषको प्रभावअनुसार फरक हुन सक्छ।
नेपालमा सर्पको विषविरुद्ध प्रयोग हुने एन्टिस्नेक भेनम सिरम उपलब्ध गराइँदै आएको छ। सरकारले वि.सं. २०५६ देखि उपचार केन्द्रमा यो औषधि निःशुल्क उपलब्ध गराउन थालेको थियो। हाल देशभर १०३ वटा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। तीमध्ये धेरैजसो नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी र स्थानीय समुदायको सहकार्यमा सञ्चालित छन्।
तर उपचार केन्द्रको संख्या मात्र पर्याप्त छैन। जोखिमयुक्त बस्तीबाट उपचार केन्द्रसम्म पुग्न लाग्ने समय, सडकको अवस्था, रातको समयमा यातायातको उपलब्धता तथा केन्द्रमा एन्टिभेनम र दक्ष जनशक्ति भए–नभएको विषयले बिरामीको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ।
सर्पले टोकेपछि टोकेको भागमा कसिलो डोरी बाँध्ने, घाउ काट्ने, मुखले विष चुस्ने वा घरेलु पदार्थ लगाउने अभ्यास हानिकारक हुन सक्छ। यस्तो अभ्यासले उपचारमा ढिलाइ गराउनुका साथै थप चोट पुर्याउन सक्छ। त्यसैले बिरामीलाई शान्त राख्ने, अनावश्यक हिँडडुल कम गराउने र सकेसम्म छिटो नजिकको उपचार केन्द्र पुर्याउनु आवश्यक हुन्छ।
सरकारले सर्पदंशलाई विपद्का रूपमा वर्गीकरण गर्दै रोकथाम तथा नियन्त्रणका लागि ‘सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ कार्यान्वयनमा ल्याएको छ।
कार्ययोजनाले मधेस, कोसी, लुम्बिनीलगायत तराईका विभिन्न जिल्लालाई सर्पदंशको उच्च जोखिम क्षेत्रका रूपमा औँल्याएको छ। उच्च जोखिम क्षेत्रको नक्सांकन, एन्टिभेनमको पर्याप्त मौज्दात, आपत्कालीन उद्धार तथा रेफरल प्रणाली सुदृढीकरण, मोटरसाइकल एम्बुलेन्स सेवा र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिलाई मुख्य रणनीतिमा राखिएको छ।
त्यस्तै, स्थानीय तह, विद्यालय र समुदायस्तरमा बहुभाषिक सचेतना अभियान सञ्चालन गर्ने, घरवरपर सरसफाइ गर्ने, झुल प्रयोग गर्ने तथा सुत्नुअघि ओछ्यान जाँच गर्ने जस्ता उपाय अपनाउन जोड दिइएको छ।
सर्पदंशबाट जोगिन घरवरपरका झाडी हटाउने, फोहोर व्यवस्थापन गर्ने, मुसा तथा सर्प लुक्न सक्ने ठाउँ कम गर्ने र घरका प्वाल बन्द गर्नुपर्छ। खेतबारी वा झाडीमा काम गर्दा जुत्ता र उपयुक्त सुरक्षात्मक कपडा लगाउने तथा राति हिँड्दा बत्ती प्रयोग गर्ने बानीले जोखिम कम गर्न सक्छ।
सर्पदंशबाट हुने मृत्यु रोक्न एन्टिभेनम र उपचार सेवा उपलब्ध हुनु मात्र पर्याप्त छैन। सर्पले टोकेपछि झारफुक वा घरेलु उपचारमा समय खेर नफाली तत्काल स्वास्थ्य संस्था पुग्नुपर्छ भन्ने सन्देश समुदायसम्म पुर्याउनु उत्तिकै आवश्यक छ।







