काठमाडौं । पोखराको एक औषधि पसलबाट ठूलो परिमाणमा औषधि बरामद गरी सञ्चालिकालाई पक्राउ गरेपछि उक्त औषधि ‘लागुऔषध’ हो कि चिकित्सकको प्रिस्क्रिप्सनबिना बिक्री गर्न नपाइने औषधि मात्र हो भन्ने विषयमा विवाद उत्पन्न भएको छ।
बिहीबार पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलबाट प्रहरीले कोडिप–पी (कोडिन) का ६ हजार ४०० चक्की, प्रेगाबालिनका ४५० चक्की, लोराजेपामका १५० चक्की र क्लोर्डियाजेपोक्साइडका १६० चक्की बरामद गरेको प्रहरी जनाएको छ। त्यसपछि प्रहरीले पसल सञ्चालिका २९ वर्षीया अमिसा ढुङ्गानालाई पक्राउ गरी लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

तर घटनापछि केही फार्मासिस्टहरूले प्रहरीको सूचनामाथि प्रश्न उठाएका छन्। उनीहरूले बरामद भएका औषधिलाई ‘लागुऔषध’ भन्न नमिल्ने र कतिपय औषधि चिकित्सकको प्रिस्क्रिप्सनबिना बिक्री भएको विषय औषधि नियमनसँग सम्बन्धित हुन सक्ने बताएका छन्।
कास्की प्रहरीले भने आफूहरूले कानुनमा तोकिएको आधारबिनै औषधिलाई ‘लागुऔषध’ भनेको नभएको दाबी गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार नेपालको राजपत्रमा सूचीकृत मनोदीपक पदार्थमध्ये लोराजेपाम र क्लोर्डियाजेपोक्साइडलाई लागुऔषधसम्बन्धी कानुनअन्तर्गत राखेर अनुसन्धान गरिएको हो।
राजपत्रमा के छ ?
नेपाल सरकारले २०५१ साल जेठ २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी लागू औषध तथा मनोदीपक पदार्थको सूची सार्वजनिक गरेको थियो। उक्त राजपत्रमा मनोदीपक पदार्थअन्तर्गत लोराजेपाम र क्लोर्डियाजेपोक्साइड लगायतका औषधि सूचीकृत छन्। गृह मन्त्रालयको प्रकाशित सामग्रीअनुसार सोही सूचनामा २० वटा लागू औषध र ९ वटा मनोदीपक औषधि समावेश गरिएको थियो।
राजपत्रमा मनोदीपक पदार्थअन्तर्गत एम्फेटामिन, बोविडिन, नाइट्राजेपाम, लोराजेपाम, अक्साजेपाम, टेमाजेपाम, डाइजेपाम, क्लोर्डियाजेपोक्साइड र क्लोनाजेपाम उल्लेख छन्। यस आधारमा लोराजेपाम र क्लोर्डियाजेपोक्साइडलाई प्रहरीले राजपत्रमा सूचीकृत मनोदीपक पदार्थका रूपमा उल्लेख गरेको हो।
लागू औषध (नियन्त्रण) ऐन, २०३३ ले ‘लागू औषध’को परिभाषामा नेपाल सरकारले समय–समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेका प्राकृतिक वा कृत्रिम लागू औषध तथा मनोदीपक पदार्थ र तिनका लवण तथा अन्य पदार्थलाई समेत समेटेको छ। अर्थात् औषधि उपचारमा प्रयोग हुन्छ भन्दैमा कुनै पदार्थ स्वतः लागू औषधसम्बन्धी कानुनी दायराबाट बाहिर हुँदैन।
यही कानुनी व्यवस्थालाई आधार बनाएर प्रहरीले लोराजेपाम र क्लोर्डियाजेपोक्साइडको बरामदगीलाई लागुऔषधसम्बन्धी अनुसन्धानको आधार बनाएको जनाएको छ। प्रहरीका अनुसार फार्मेसी सञ्चालिकाले अन्य बरामद औषधिसमेत चिकित्सकको प्रिस्क्रिप्सनबिना बिक्री गरिरहेको भेटिएको थियो।
प्रहरी नायब उपरीक्षक पासवानले सुरुमा लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाउने र त्यसपछि प्रिस्क्रिप्सनबिना बिक्री गरिएको औषधिको विषय सम्बन्धित नियामक निकायमा पठाइने बताए।
त्यसैले पोखरा घटनामा फार्मासिस्टहरूले उठाएको प्रश्न पूर्ण रूपमा निराधार भन्न मिल्दैन। प्रहरीले प्रयोग गरेको ‘लागुऔषध’ शब्द पनि कानुनी आधारविहीन देखिँदैन।









