दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन हुँदै आएको स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा बन्द भएको छ।
नेपाल सरकारका प्रणाली तथा सरकारी वेबसाइटमा साइबर सुरक्षासम्बन्धी अपडेट भइरहेका कारण सरकारी सर्भरमा प्राविधिक अवरोध उत्पन्न भएपछि स्वास्थ्य बीमा सेवा बन्द गर्नुपरेको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका सहनिर्देशक डा. निरोज खनालद्वारा जारी सूचनाअनुसार सरकारी सर्भर तथा प्रणाली प्रभावित हुँदा स्वास्थ्य बीमा बोर्डको प्रणालीमा समेत समस्या आएको छ। सोही कारण प्रतिष्ठानबाट प्रदान गरिँदै आएको स्वास्थ्य बीमा सेवा अवरुद्ध भएको हो।
प्राविधिक समस्या समाधान भई सरकारी सर्भर तथा प्रणाली पुनः सञ्चालनमा आएलगत्तै स्वास्थ्य बीमा सेवा पनि सुचारु गरिने प्रतिष्ठानले स्पष्ट पारेको छ।

Last Modified Date: २०८३ कार्तिक ७, शुक्रबार









