काठमाडौं । प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएशन नेपालका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमान सिंह कार्कीले मापदण्ड पूरा गरेका निजी मेडिकल कलेजको सिट वृद्धि र शुल्क समायोजनसम्बन्धी माग चिकित्सा शिक्षा आयोगले सम्बोधन नगरेको बताएका छन्।
शुक्रबार बसेको आयोगको बैठकपछि प्रतिक्रिया दिँदै कार्कीले निजी क्षेत्रले उठाउँदै आएका विषयमा सुनुवाइ नभएको गुनासो गरे। आयोगले केही शिक्षण संस्थाका शैक्षिक कार्यक्रमको सिट निर्धारण गरे पनि एमबीबीएस र बीडीएसमा निजी क्षेत्रको अपेक्षाअनुसार सिट नबढेको उनको भनाइ छ।
“हामीले मापदण्ड पुगेकाहरूलाई सम्बोधन गरियोस् भनेका थियौँ। त्यो सुनुवाइ भएन,” कार्कीले भने।
उनका अनुसार मापदण्ड पूरा गरेका संस्थाको सिट वृद्धि र शुल्क समायोजन एसोसिएशनले लामो समयदेखि उठाउँदै आएका माग हुन्। करिब १० मिनेट चलेको बैठकमा आफूले यी विषय राख्न खोजे पनि अपेक्षित सम्बोधन नभएको उनले बताए।
कार्कीले सिट र शुल्क यथावत् रहँदा विद्यार्थीलाई उपलब्ध गराउँदै आएको निर्वाह भत्तालगायत खर्च व्यवस्थापनमा समस्या पर्ने दाबीसमेत गरे।
“अब हामीले त्यो निर्वाह भत्ता तथा अरू कुराहरू कसरी म्यानेज गर्ने? अब फेरि समस्या हुने भयो,” उनले भने।









