काठमाडौं । नेपालमा सन् २०२६ को सुरुदेखि हालसम्म स्क्रब टाइफसबाट १० हजारभन्दा बढी संक्रमित भएका छन् । देशका ७७ मध्ये ७४ जिल्लामा फैलिएको यो संक्रमणबाट सात जनाको मृत्यु पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार स्क्रब टाइफसका कारण मृत्यु भएको भन्दै २२ जनाको विवरण प्राप्त भए पनि सात जनाको मात्रै मृत्यु पुष्टि भएको हो । बाँकी १५ जनाको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताएका छन् ।
ईडीसीडीका अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा बढी दुई हजार ७७९ जनामा संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिममा एक हजार ९४७, गण्डकीमा एक हजार ८६४, बागमतीमा एक हजार २२६, कोशीमा एक हजार १३२, कर्णालीमा ७२९ र मधेशमा २४६ जना संक्रमित भएका छन् ।
स्क्रब टाइफस माइट नामक सूक्ष्म किर्नाजस्तो जीवको टोकाइबाट सर्ने रोग हो । संक्रमित माइटले टोकेपछि यसको जीवाणु मानिसको शरीरमा प्रवेश गर्छ । झाडी, खेतबारी, घाँसपात र वनजंगल आसपास यसको जोखिम बढी हुन्छ ।
वर्षायामपछि चिस्यान बढ्ने, घाँसपात पलाउने र मानिसको खेतबारी तथा जंगलसँगको सम्पर्क बढ्ने भएकाले संक्रमणको जोखिमसमेत बढ्ने चिकित्सकहरू बताउँछन् ।
समयमै उपचार नगरे स्क्रब टाइफसले शरीरका विभिन्न अंगमा असर पुर्याउन सक्छ । गम्भीर अवस्थामा बिरामीलाई सघन उपचार आवश्यक पर्न सक्छ । त्यसैले ज्वरो आएमा घरमै औषधि खाएर नबस्न र तत्काल स्वास्थ्य संस्थामा जाँच गराउन ईडीसीडीले आग्रह गरेको छ । समयमै उपचार पाएमा यो रोग निको हुन सक्छ ।








