काठमाडौं । नेपालमै उत्पादित ‘कार–टी’ सेल प्रविधिको प्रयोग गरेर पहिलोपटक क्यान्सरका बिरामीको सफल उपचार गरिएको छ।
सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपाल (सीआरएम नेपाल) र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको संयुक्त सहकार्यमा यो उपलब्धि हासिल भएको हो।
टिचिङ अस्पतालमा एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया अर्थात् रगतको क्यान्सरको उपचार गराइरहेका बिरामीलाई गत असोज ११ गते कार–टी सेल चढाइएको थियो। हेमाटो अङ्कोलोजिस्ट डा. अञ्जन श्रेष्ठको नेतृत्वमा रहेको चिकित्सक टोलीका अनुसार हाल बिरामीको अवस्था स्थिर रहेको छ। उपचारको प्रारम्भिक नतिजा उत्साहजनक देखिएको टोलीले जनाएको छ।
कार–टी सेल प्रविधिमा बिरामीकै शरीरका टी–सेल अर्थात् रोग प्रतिरोधात्मक कोषलाई प्रयोगशालामा आनुवंशिक रूपमा परिमार्जन गरी क्यान्सरका कोष पहिचान गर्न सक्ने बनाइन्छ। त्यसपछि ती कोषलाई पुनः बिरामीको शरीरमा चढाइन्छ।
प्रमुख वैज्ञानिक डा. सञ्जीवन गौतमका अनुसार सन् २०२२ देखि सुरु भएको प्रारम्भिक अनुसन्धान तथा विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड र नियामक प्रक्रिया पूरा गरेपछि सन् २०२६ मा यसको क्लिनिकल प्रयोगको स्वीकृति प्राप्त भएको हो।
केमोथेरापीले काम नगरेका वा क्यान्सर दोहोरिएका बिरामीका लागि यो प्रविधि प्रभावकारी हुन सक्ने बताइएको छ। नेपालमै यस्तो उपचार उपलब्ध भएपछि जटिल प्रकारका रगतका क्यान्सरको उपचारका लागि भारत वा चीन जानुपर्ने बाध्यता कम हुनुका साथै उपचार खर्चमा समेत राहत पुग्ने अपेक्षा गरिएको छ।
यस उपलब्धिमा विभिन्न नेपाली तथा अन्तर्राष्ट्रिय चिकित्सक, वैज्ञानिक र अनुसन्धानकर्ताको योगदान रहेको छ। सीआरएम नेपालले आगामी दिनमा यस उन्नत उपचार प्रविधिको पहुँच धेरैभन्दा धेरै बिरामीसम्म विस्तार गर्ने लक्ष्य राखेको छ।








