सुनसरी । सुत्केरी व्यथाले च्यापेर पीडामा छटपटाइरहेकी महिलालाई जिल्ला अस्पताल सुनसरी इनरुवाले तीन घण्टासम्म सिँढी र प्यासेजमा राखेर स्वास्थ्य परीक्षण तथा बेड भर्ना नगरी अन्यत्र पठाएको आरोप लागेको छ । अस्पतालबाट अन्यत्र लैजाने क्रममा ती महिलाले एम्बुलेन्समै बच्चा जन्माएकी छन् ।
सुनसरीको कोशी गाउँपालिका–३ जमुवा निवासी शर्मीला सदा मुसहरलाई सुत्केरी व्यथा लागेपछि उनका श्रीमान् देवकुमार सदा र जेठानी फगुनी सदाले बुधबार राति जिल्ला अस्पताल सुनसरी इनरुवा पुर्याएका थिए ।
देवकुमारका अनुसार शर्मीलालाई सुत्केरी व्यथाले च्यापेर छटपटाइरहेकी अवस्थामा अस्पतालको भुइँतलामा राखेर आफू माथिल्लो तलामा रहेको प्रसूति वार्डमा नर्सिङ स्टाफ तथा चिकित्सकलाई जानकारी गराउन पुगेका थिए । स्वास्थ्य परीक्षण गरी बेड भर्नाका लागि आग्रह गर्दा अस्पतालमा रहेका चिकित्सक तथा नर्सले पुरानो ल्याब तथा भिडियो एक्सरेको रिपोर्ट हेरेर उनको अवस्था उच्च जोखिममा रहेको बताएका थिए ।
फगुनी सदाका अनुसार एकजना स्टाफ नर्सले स्वास्थ्य परीक्षण नै नगरी पाठेघरको मुख नखुलेको र तत्काल बच्चा जन्मिने अवस्था नरहेको बताएका थिए । केही भइहाले अस्पतालले जिम्मेवारी नलिने भन्दै आफ्नै जिम्मामा उपचार गराउनुपर्ने जवाफ दिएको उनको भनाइ छ ।
प्रसूति वार्डमा ड्युटीमा रहेकी डा. सुजाता चौधरीले बिरामीको प्रत्यक्ष परीक्षण नगरी फोनमार्फत स्टाफ नर्सलाई धरान वा विराटनगर लैजान निर्देशन दिएको परिवारको दाबी छ । त्यसपछि प्रसूति वार्डमै रहेका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष साह र डा. कृष्ण दासले समेत बिरामीलाई अन्यत्र लैजान सहमति जनाएपछि राति १२ बजेपछि शर्मीलालाई अस्पतालकै सरकारी एम्बुलेन्समा विराटनगरस्थित कोशी अस्पतालतर्फ पठाइएको थियो ।
फगुनीका अनुसार विराटनगर लैजाने क्रममा शर्मीलालाई थप सुत्केरी व्यथा लागेपछि एम्बुलेन्सभित्रै बच्चा जन्मिएको थियो । तर, असहज अवस्थामा बच्चाको टाउको आमाको शरीरमै अड्किएको थियो । कोशी अस्पतालको मूल गेटमा पुगेपछि स्वास्थ्यकर्मीले बच्चाको टाउको निकालेर प्रसूति गराएका थिए ।
बच्चा जन्मिएपछि कोशी अस्पतालले तत्काल आइसियुमा राखेर उपचार गर्नुपर्ने भन्दै विराट नर्सिङ होम, नोबेल मेडिकल कलेज वा सुरक्षा अस्पताल लैजान सुझाव दिएको परिवारको भनाइ छ । त्यसपछि परिवारले बच्चालाई सुरक्षा अस्पताल लगेका थिए ।
सुरक्षा अस्पतालले दैनिक १७ हजार रुपैयाँ अग्रिम जम्मा गरेपछि मात्रै बच्चालाई आइसियुमा राख्न सकिने बताएपछि आर्थिक अवस्था कमजोर रहेको परिवारले त्यहाँ उपचार गराउन नसक्ने भन्दै बच्चालाई पुनः कोशी अस्पताल नै फर्काएको फगुनीले बताइन् ।
कोशी अस्पताल फर्काएपछि नवजात शिशु रुन थालेको र चिकित्सकले आमाको दूध चुसाउन लगाएको देवकुमारले बताए । आमाको दूध खाएपछि बच्चाले दिसा–पिसाब गरेपछि आइसियुमा राख्न आवश्यक नरहेको चिकित्सकले बताएका थिए । त्यसपछि सामान्य बेडमा राखेर आमा र बच्चाको स्वास्थ्य परीक्षण गरिएको उनले बताए ।
बिहान १० बजेतिर आमा र बच्चाको स्वास्थ्य अवस्था ठीक रहेको भन्दै कोशी अस्पतालले आवश्यक औषधि लेखेर घर लैजान डिस्चार्ज गरेको परिवारले जनाएको छ । तर, आर्थिक अभावका कारण अस्पतालले लेखिदिएको औषधिसमेत किन्न नसकेको देवकुमारको भनाइ छ ।
घटनाबारे जिल्ला अस्पताल सुनसरी इनरुवाका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष साहसँग जानकारी माग्दा उनले आफू तीन दिनदेखि अस्पतालमा नरहेको र सुत्केरी महिलाबारे कुनै जानकारी नभएको बताए । तालिमका लागि इटहरीमा रहेको भन्दै उनले अस्पताल प्रशासन प्रमुख उमेश गौतमसँग बुझ्न आग्रह गरे ।
यता, अस्पतालका केही स्वास्थ्यकर्मीले भने शर्मीला प्रसूति पीडामा अस्पताल आउँदा मेडिकल सुपरिटेन्डेन्ट डा. साह स्वयं माथिल्लो तलाको प्रसूति वार्डमा रहेको र बिरामीका श्रीमान् तथा जेठानीसँग कुराकानी गरेको बताएका छन् । घटनाबारे कार्यालयको बैठकमा छलफल भएपछि मात्र सार्वजनिक रूपमा जवाफ दिन सकिने उनीहरूको भनाइ छ ।
अस्पताल सुधार संघर्ष समितिका अभियन्ता दिलीपचन साहले सुत्केरी पीडामा रहेकी महिलाको सामान्य स्वास्थ्य परीक्षण र बेड भर्नासमेत नगरी जोखिमपूर्ण अवस्थामा अन्यत्र पठाउनु चरम लापरवाही र मानवीय संवेदनहीनता भएको बताएका छन् । उनले घटनामा संलग्न दोषीलाई निलम्बन गरी छानबिन गर्नुपर्ने माग गरेका छन् ।







