दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि क्याथ ल्याब सेवा सुरु भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा क्याथ ल्याब सेवाको उद्घाटन गरेकी हुन्।
क्याथ ल्याब सेवा सञ्चालनमा आएसँगै दाङसहित आसपासका जिल्लाका नागरिकलाई मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। यसले यस क्षेत्रका नागरिकलाई आफ्नै क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सहज बनाउने विश्वास गरिएको छ।
सेवा शुभारम्भ कार्यक्रममा मन्त्री मेहताले क्याथ ल्याब सञ्चालनले क्षेत्रीय स्वास्थ्य सेवाको गुणस्तर र पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने बताइन्। उनले प्रतिष्ठानको सेवालाई थप प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउँदै नागरिकलाई सहज रूपमा विशेषज्ञ उपचार उपलब्ध गराउनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा प्रतिष्ठानलाई ४०० शय्याको अस्पतालका रूपमा विकास गर्ने विषयमा समेत छलफल भएको थियो। मन्त्री मेहताले प्रतिष्ठानको सेवा विस्तार र स्तरोन्नतिका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिन्।







