काठमाडौं । अभिनेता विपिन कार्कीले आफ्नी जेठी छोरीको उपचारका क्रममा नेपाल मेडिसिटी अस्पतालमा महँगा परीक्षण गरिए पनि रोग पहिचान हुन नसकेको तथा उपचारमा लाखौँ रुपैयाँ खर्च भएको दाबी गरेपछि अस्पतालले त्यसप्रति आपत्ति जनाएको छ।
कार्कीले हालै एक अन्तर्वार्तामा छोरी गम्भीर बिरामी भएपछि उपचारका लागि मेडिसिटी अस्पताल लगेको र त्यहाँ पटक–पटक महँगा परीक्षण गराउँदा पनि वास्तविक रोग पहिचान हुन नसकेको बताएका थिए। उनका अनुसार परीक्षणका नाममा लाखौँ रुपैयाँ खर्च भएको थियो भने छोरीलाई सुरुमा भाइरल ज्वरो भएको भनिएको थियो।
कार्कीले अर्को चिकित्सकको सुझाव र आफ्नै खोजीपछि बालरोग विशेषज्ञ डा. धर्मागत भट्टराईसम्म पुगेको र त्यसपछि छोरीमा जुभेनाइल डर्माटोमायोसाइटिस (जेडीएम) अर्थात् दुर्लभ अटोइम्युन रोग पहिचान भएको बताएका थिए। डा. भट्टराईबाट उपचार सुरु भएपछि छोरीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको पनि उनले बताएका छन्।
कार्कीले मेडिसिटीमा उपचारका क्रममा पटक–पटक महँगा परीक्षण गरिए पनि रोग पत्ता नलागेको भन्दै आफ्नो अनुभव सार्वजनिक गरेपछि अस्पतालले विज्ञप्ति जारी गर्दै त्यसबारे स्पष्टीकरण दिएको हो।
अस्पतालले बालिकालाई पटक–पटक भर्ना गरिएको र उपचारका क्रममा लाखौँ रुपैयाँको बिल उठेको भन्ने दाबी तथ्यहीन तथा निराधार भएको जनाएको छ। अस्पतालको आधिकारिक अभिलेखअनुसार बालिकालाई नेपाल मेडिसिटीमा दुई पटक मात्रै अल्पकालीन परामर्श तथा उपचारका लागि ल्याइएको र दुवै पटक उपलब्ध गराइएका सेवाको कुल रकम लाखौँमा नभई हजारौँ रुपैयाँ मात्रै रहेको अस्पतालको दाबी छ।
अस्पतालले केही जटिल चिकित्सकीय अवस्थामा तत्काल अन्तिम निदान हुन नसक्ने पनि जनाएको छ। त्यस्ता अवस्थामा निश्चित समयसम्म सावधानीपूर्वक क्लिनिकल मूल्याङ्कन, उपयुक्त परीक्षण तथा गहन निगरानी आवश्यक पर्न सक्ने अस्पतालको भनाइ छ।
स्वास्थ्य सेवासम्बन्धी सार्वजनिक अभिव्यक्ति पूर्ण र तथ्यपरक सूचनामा आधारित हुनुपर्ने भन्दै अस्पतालले प्रमाणमा आधारित नभएका अभिव्यक्तिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाप्रतिको जनविश्वासमा असर पार्न सक्ने जनाएको छ।







