

काठमाडौं । कोलेस्ट्रोलको मात्रा सामान्य हुँदैमा मुटु पूर्ण रूपमा सुरक्षित छ भनेर ढुक्क हुन नहुने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजीव राजभण्डारी बताउँछन्। मुटु रोगको जोखिम कोलेस्ट्रोलसँग मात्रै सम्बन्धित नभई मधुमेह, उच्च रक्तचाप, धुम्रपान, मोटोपना तथा वंशाणुगत कारणलगायत विभिन्न जोखिममा निर्भर हुने उनको भनाइ छ।
बीएण्डबी अस्पतालमा कार्यरत डा. राजभण्डारीका अनुसार धुम्रपान गर्ने व्यक्तिमा हृदयघातको जोखिम धुम्रपान नगर्ने व्यक्तिको तुलनामा करिब चार गुणासम्म बढी हुन सक्छ। त्यसैले ‘कम चुरोट पिउँछु’ भन्दै धुम्रपानलाई सामान्य रूपमा लिन नहुने उनी बताउँछन्। एउटा चुरोटले समेत मुटुको स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले धुम्रपान पूर्ण रूपमा त्याग्नु नै सुरक्षित उपाय हुने उनको सुझाव छ।
मधुमेहले पनि हृदयघातको जोखिम उल्लेख्य रूपमा बढाउने डा. राजभण्डारी बताउँछन्। त्यसैगरी उच्च रक्तचाप, मोटोपना र शरीरमा विशेषगरी पेट वरिपरि बोसो बढ्ने अवस्थाले मुटुको स्वास्थ्यमा असर पार्न सक्छ। मोटोपनालाई विभिन्न रोगको जोखिम बढाउने प्रमुख कारणका रूपमा लिनुपर्ने उनको भनाइ छ।
मुटुलाई स्वस्थ राख्न नियमित शारीरिक व्यायाम पनि उत्तिकै महत्वपूर्ण हुने डा. राजभण्डारी बताउँछन्। मुटु जति सक्रिय रहन्छ, त्यसले आफ्नो काम त्यति प्रभावकारी रूपमा गर्न सक्ने भएकाले नियमित व्यायामलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्ने उनको सुझाव छ। शरीरको तौल नियन्त्रणमा राख्ने, रक्तचाप र कोलेस्ट्रोललाई नियन्त्रणमा राख्ने तथा मधुमेह भएमा त्यसलाई व्यवस्थित गर्ने बानीले मुटु रोगको जोखिम कम गर्न सहयोग गर्ने उनी बताउँछन्।
परिवारमा कसैलाई वंशाणुगत रूपमा मुटुसम्बन्धी समस्या रहेको अवस्थामा पनि विशेष सावधानी अपनाउनुपर्ने डा. राजभण्डारीको सुझाव छ। यस्तो अवस्थामा आफ्नो जोखिमबारे चिकित्सकसँग परामर्श गरी आवश्यक स्वास्थ्य परीक्षण गराउनु महत्वपूर्ण हुने उनी बताउँछन्।
मुटु रोगको जोखिमसँगै हृदयघातका लक्षण पहिचान गर्न पनि उत्तिकै आवश्यक रहेको डा. राजभण्डारी बताउँछन्। ग्यास्ट्रिकको समस्या र हृदयघातको दुखाइलाई एउटै ठानेर बेवास्ता गर्दा जोखिम बढ्न सक्ने भएकाले छाती दुखाइको प्रकृति बुझ्नुपर्ने उनको भनाइ छ।
हृदयघात हुँदा प्रायः छातीको मध्यभागमा केही भारी वस्तुले थिचेजस्तो वा निचोरेजस्तो दुखाइ हुन सक्छ। यस्तो दुखाइ देब्रे हात, देब्रे छाती हुँदै घाँटी र चिउँडोसम्म पुग्न सक्छ। नाइटोभन्दा माथि र चिउँडोभन्दा तलको भागमा हुने दुखाइलाई सामान्य रूपमा लिन नहुने डा. राजभण्डारी बताउँछन्।
विशेषगरी भर्याङ चढ्दा, भारी वस्तु उठाउँदा वा तनावमा हुँदा छाती दुख्ने समस्या देखिएमा तत्काल अस्पताल गएर जाँच गराउनुपर्ने उनको सुझाव छ। छाती दुखाइ १५ मिनेटभन्दा बढी समयसम्म रह्यो भने झनै गम्भीर रूपमा लिएर तत्काल अस्पताल पुग्नुपर्ने उनी बताउँछन्।
ग्यास्ट्रिकको दुखाइ भने प्रायः छातीभन्दा तलको भागमा हुने र पोल्ने वा घोचेको जस्तो महसुस हुन सक्ने उनी बताउँछन्। तर छाती दुखाइसँगै चिसो पसिना आउने, असहजता बढ्ने वा अन्य लक्षण देखिएमा त्यसलाई सामान्य ग्यास्ट्रिक भनेर बस्न नहुने उनको भनाइ छ।
कतिपय अवस्थामा छातीमा स्पष्ट दुखाइ नभएर पनि हृदयघात हुन सक्ने डा. राजभण्डारी बताउँछन्। विशेषगरी मधुमेह भएका व्यक्तिमा हृदयघातका लक्षण सामान्य वा फरक किसिमका देखिन सक्ने भएकाले थप सचेत हुनुपर्ने उनको सुझाव छ। हल्का छाती दुख्ने, सामान्यभन्दा बढी सास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने वा बान्ता आउलाजस्तो हुनेजस्ता लक्षण देखिए पनि हृदयघातको सम्भावना सम्झेर ईसीजीलगायत आवश्यक जाँच गराउनुपर्ने उनी बताउँछन्।
उनका अनुसार मुटु रोगबाट बच्न कुनै एउटा मात्र पक्षमा ध्यान दिएर पुग्दैन। धुम्रपान त्याग्ने, रक्तचाप, कोलेस्ट्रोल र मधुमेह नियन्त्रणमा राख्ने, शरीरको तौल सन्तुलित राख्ने, नियमित शारीरिक व्यायाम गर्ने तथा वंशाणुगत जोखिम भए समयमै स्वास्थ्य परीक्षण गराउने बानीले मुटुलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ।



