

काठमाडौं । मुटुमा समस्या हुँदा देखिने लक्षणलाई सामान्य रूपमा लिएर बेवास्ता गर्न नहुने मुटुरोग विशेषज्ञ डा. आनन्द जी.सी.ले बताएका छन्। छाती दुख्ने, सास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, बान्ता हुने, चिसो पसिना आउने, बेहोस हुने वा शरीर कमजोर तथा असहज महसुस हुनेजस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य परीक्षण गराउनुपर्ने उनको सुझाव छ।
अल्का अस्पतालमा कार्यरत कन्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा. जी.सी.का अनुसार मुटु शरीरको अत्यन्त महत्वपूर्ण अंग हो। मुटुले शरीरका विभिन्न अंगमा रगत तथा अक्सिजन पुर्याउने भएकाले यसको स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक हुन्छ। पछिल्लो समय मुटुरोगीको संख्या बढ्दै जानुको प्रमुख कारण बदलिँदो जीवनशैली भएको उनी बताउँछन्।
उनका अनुसार अहिले कम उमेरमै हृदयघात हुने क्रमसमेत बढेको छ। ३० वर्षभन्दा कम उमेरका व्यक्तिमा पनि हृदयघात देखिन थालेको भन्दै उनले यसको प्रमुख कारण अस्वस्थ जीवनशैली रहेको बताए। धुम्रपान तथा मद्यपान, पर्याप्त निद्रा नलिने बानी, शारीरिक गतिविधिको कमी, बढी चिल्लो तथा अस्वस्थकर खाना खाने बानी र बढ्दो तौलले मुटुमा जोखिम बढाउने उनको भनाइ छ।
मुटुलाई स्वस्थ राख्नका लागि महँगो उपचार वा विशेष खर्च मात्रै आवश्यक नपर्ने भन्दै डा. जी.सी.ले दैनिक जीवनशैलीमा सुधार गर्नुपर्ने बताए। उनका अनुसार सातामा कम्तीमा पाँच दिन करिब ३० मिनेट शारीरिक गतिविधि गर्नुपर्छ। नियमित हिँड्ने, हात हल्लाउँदै हिँड्ने, नाच्ने, पौडी खेल्ने तथा आफ्नो स्वास्थ्य अवस्थाअनुसार व्यायाम गर्ने बानीले मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ।
त्यसैगरी चिल्लो पदार्थ र रातो मासुको सेवन कम गर्ने, धुम्रपान तथा मद्यपानबाट टाढा रहने र पर्याप्त निद्रा लिने बानी आवश्यक रहेको उनले बताए। दैनिक ६ देखि ८ घण्टासम्म सुत्नुपर्ने तथा मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोललाई नियन्त्रणमा राख्नुपर्ने उनको सुझाव छ। तनाव व्यवस्थापनका लागि ध्यान तथा मेडिटेसन गर्न पनि उनले आग्रह गरेका छन्।
डा. जी.सी.का अनुसार मुटुरोग बढ्नुमा मानिसको दैनिक जीवनशैलीमा आएको परिवर्तन मुख्य कारणमध्ये एक हो। पछिल्लो समय चिल्लो तथा अस्वस्थकर खाना खाने, तौल बढ्ने, धुम्रपान तथा मद्यपान गर्नेको संख्या बढेकाले मुटुमा समस्या देखिने जोखिमसमेत बढेको उनको भनाइ छ। कतिपय अवस्थामा हृदयघात भएका व्यक्ति समयमै अस्पताल नपुग्दा अवस्था गम्भीर बन्ने गरेको उनले बताए।
छाती दुखाइलाई विशेष रूपमा गम्भीरतापूर्वक लिनुपर्ने डा. जी.सी. बताउँछन्। लामो समयसम्म छाती दुख्ने, दुखाइ दायाँ वा बायाँतर्फ फैलिने, बायाँ हात, काँध, ढाड वा चिउँडोसम्म दुखाइ पुग्ने, सास फेर्न गाह्रो हुने तथा चिसो पसिना आउनेजस्ता लक्षण हृदयघातका संकेत हुन सक्ने उनले बताए। कतिपय व्यक्तिमा भने हृदयघात हुँदा स्पष्ट लक्षणसमेत नदेखिन सक्ने भएकाले जोखिम समूहका व्यक्तिले थप सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।
यद्यपि छाती दुख्दैमा हृदयघात नै भएको हुन्छ भन्ने नभएको पनि डा. जी.सी.ले स्पष्ट पारे। ग्यास्ट्राइटिस, श्वासप्रश्वाससम्बन्धी समस्या, एन्जाइटी वा मांसपेशीको समस्याका कारण पनि छाती दुख्न सक्ने भए पनि हृदयघातको सम्भावना नहटाई चिकित्सकीय जाँच गराउनुपर्ने उनले बताए। ‘ग्यास्ट्रिक होला’ भनेर छातीको दुखाइलाई लामो समय बेवास्ता गर्दा ज्यानसमेत जान सक्ने भएकाले लक्षण देखिएपछि ढिला नगरी अस्पताल पुग्न उनको सुझाव छ।
वंशाणुगत कारणले पनि मुटुरोग तथा हृदयघातको जोखिम हुन सक्ने डा. जी.सी. बताउँछन्। परिवारमा मुटुरोगको इतिहास भएका व्यक्तिले नियमित रूपमा रक्तचाप, कोलेस्ट्रोल र मधुमेहको परीक्षण गराउनुपर्ने उनले बताए। परीक्षणका क्रममा समस्या देखिएमा चिकित्सकको सल्लाहअनुसार नियन्त्रणमा राख्ने र स्वस्थ जीवनशैली अपनाउने उनको सुझाव छ।
मुटुको अवस्था बुझ्न आवश्यकताअनुसार इसीजी, इको लगायतका परीक्षण गर्न सकिने उनले बताए। कुनै विशेष लक्षण वा रोग नभए पनि आफ्नो उमेर, जोखिम र पारिवारिक इतिहासअनुसार चिकित्सकको सल्लाह लिएर नियमित स्वास्थ्य परीक्षण गराउनु उचित हुने उनको भनाइ छ।
हृदयघातको शंका भएको अवस्थामा समय निकै महत्वपूर्ण हुने भन्दै डा. जी.सी.ले गम्भीर लक्षण देखिएका व्यक्तिलाई तत्काल अस्पताल पुर्याउन आग्रह गरेका छन्। एस्प्रिनको प्रयोग केही हृदयघातका अवस्थामा उपयोगी हुन सक्ने भए पनि सबै छाती दुखाइमा आफैंले औषधि सेवन गर्नु उचित नहुने भएकाले चिकित्सकीय सल्लाह र आपत्कालीन उपचारलाई प्राथमिकता दिनुपर्ने हुन्छ।
मुटुरोगबाट बच्न सबैभन्दा महत्वपूर्ण कुरा रोग लागेपछि उपचार गर्नुभन्दा जोखिम कम गर्ने जीवनशैली अपनाउनु रहेको डा. जी.सी. बताउँछन्। नियमित व्यायाम, सन्तुलित आहार, पर्याप्त निद्रा, धुम्रपान तथा मद्यपानबाट दूरी, तनाव व्यवस्थापन तथा रक्तचाप, मधुमेह र कोलेस्ट्रोल नियन्त्रणमा राख्न सके मुटुरोगको जोखिम कम गर्न सकिने उनको सुझाव छ।



