

वीरगञ्ज । स्थापनाको २५ वर्ष पूरा गरेको क्वेष्ट फर्मास्युटिकल्स प्रालिले शनिबार वीरगञ्जमा भव्य समारोह आयोजना गरी रजत जयन्ती मनाएको छ। यसअघि कम्पनीले गत २६ असारमा काठमाडौंमा पनि रजत जयन्ती समारोह आयोजना गरेको थियो।
बाराको छातापिपरामा रहेको उद्योग तथा वीरगञ्जस्थित कर्पोरेट कार्यालयमा कार्यरत ६ सयभन्दा बढी कर्मचारीको सम्मानमा वीरगञ्जमा विशेष समारोह आयोजना गरिएको कम्पनीले जनाएको छ।
सन् १९९९ मा स्थापना भएको क्वेष्टले सन् २००१ देखि औपचारिक रूपमा औषधि उत्पादन सुरु गरेको हो। कम्पनीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को गुड म्यानिफ्याक्चरिङ प्राक्टिस (जीएमपी) मापदण्डअनुसार औषधि उत्पादन गर्दै आएको जनाएको छ।
कम्पनीका प्रबन्ध निर्देशक उमेशलाल श्रेष्ठले विगत २५ वर्षदेखि गुणस्तरीय, सुरक्षित र नवीन औषधि उत्पादन तथा वितरणमार्फत नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्दै आएको बताए। उनका अनुसार कम्पनीले अनुसन्धान तथा विकास (आरएण्डडी) मा निरन्तर लगानी गर्दै नेपालमा पहिलोपटक सफ्ट जेलाटिन क्याप्सुल र बाइलेयर्ड ट्याबलेट प्रविधि भित्र्याएको छ।
हाल क्वेष्टले १ सयभन्दा बढी ब्रान्डेड जेनरिक औषधि उत्पादन गर्दै वार्षिक ३० करोडभन्दा बढी एकाइ औषधि बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार नेपालभर १ सय ५० भन्दा बढी वितरण साझेदारमार्फत करिब ३० लाख बिरामीसम्म आफ्ना उत्पादन तथा सेवा पुर्याउँदै आएको छ भने नेपालको करिब ५ प्रतिशत औषधि आवश्यकता पूरा गरिरहेको छ।
अनुसन्धान, गुणस्तर, उत्पादन र मानव स्रोत विकासलाई प्राथमिकता दिँदै आएको कम्पनीमा ६ सयभन्दा बढी कर्मचारी कार्यरत रहेको जनाइएको छ।
प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति सांसद रहबर अन्सारीले क्वेष्ट फर्मास्युटिकल्सको सफलताको मुख्य आधार सञ्चालकहरूबीचको समन्वय र विश्वास रहेको बताए।
वीरगञ्जमा आयोजित रजत जयन्ती समारोह उद्घाटन गर्दै उनले क्वेष्टका चार संस्थापक सञ्चालकबीचको राम्रो समन्वयले उद्योगले गुणात्मक सफलता हासिल गरेको बताए।
‘उमेश सर, पृथ्वी सर, उत्तम सर र बर्मा सरहरूबीच गुणस्तरीय औषधि उत्पादनका लागि जोडिएको मनका कारण यो सफलता मिलेको हो,’ उनले भने।
अन्सारीले स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर, प्रतिस्पर्धी र निर्यातमुखी बनाउन स्पष्ट सरकारी नीति, उद्योगमैत्री वातावरण तथा निजी क्षेत्रसँग प्रभावकारी सहकार्य आवश्यक रहेको बताए। उनले अनुसन्धान, नवप्रवर्तन र निर्यात प्रवर्द्धनमा क्वेष्टको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे।
प्रबन्ध निर्देशक श्रेष्ठले क्वेष्टको २५ वर्षे यात्रा ग्राहक, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, वितरक, व्यावसायिक साझेदार तथा नियामक निकायको विश्वास र सहयोगको परिणाम भएको बताए।
उनका अनुसार कम्पनीले भक्तपुरमा अत्याधुनिक इनोभेसन सेन्टर स्थापना गरी हाल आयातमा निर्भर रहेका केही औषधि स्वदेशमै उत्पादन गर्ने तयारी गरिरहेको छ। यसबाट औषधि उत्पादनमा नेपालको आत्मनिर्भरता थप मजबुत हुने कम्पनीको विश्वास छ।
२०७२ सालको भूकम्प र कोभिड–१९ महामारीजस्ता कठिन परिस्थितिमा पनि औषधिको आपूर्ति निरन्तर कायम राखेको उनले बताए। पछिल्लो समय भोटेकोशी बाढीपीडितका लागि कम्पनीले औषधि तथा आर्थिक सहयोग गरेको र कर्मचारी तथा सञ्चालकले समेत आफ्नो तलबबाट थप आर्थिक सहयोग गरेको उनले जानकारी दिए।
श्रेष्ठले स्वदेशी औषधि उद्योगले ठूलो परिमाणमा आयात प्रतिस्थापन गरिरहेको भए पनि उद्योग प्रवर्द्धन, औषधिको मूल्य समायोजन र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने स्पष्ट सरकारी नीति आवश्यक रहेको बताए।
आगामी दिनमा अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय गुणस्तरलाई थप सुदृढ गर्दै उत्पादन क्षमता विस्तार गर्ने कम्पनीको लक्ष्य रहेको उनले बताए। नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुने क्रममा औषधी उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर, बौद्धिक सम्पत्ति अधिकार तथा प्रयोगशाला मान्यताजस्ता विषयमा क्षमता अभिवृद्धि गर्नुपर्ने उनको भनाइ थियो।
समारोहमा कम्पनीका अध्यक्ष शंकर दास श्रेष्ठ, निर्देशकहरू पृथ्वीराज भण्डारी (निजु), शैलेन्द्रप्रसाद वर्मा र उत्तमकुमार श्रेष्ठले कम्पनीको सफलताको श्रेय संस्थापक, कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, ग्राहक, वितरक तथा व्यावसायिक साझेदारलाई दिए।
एसोसिएट डाइरेक्टर असिमराज भण्डारीले २५ वर्षको यात्रा ग्राहक, चिकित्सक, कर्मचारी र व्यावसायिक साझेदारले कम्पनीप्रति देखाएको विश्वासको प्रतिफल भएको बताए। नयाँ पुस्ताले अनुसन्धान, डिजिटल रूपान्तरण र नवप्रवर्तनलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय औषधि उत्पादनमार्फत नेपालको औषधि उद्योगलाई थप प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने दिशामा काम गरिरहेको उनले बताए।
कार्यक्रममा क्वेष्टका उपाध्यक्ष सुरेन्द्र वतास, डा. कमलेशदत्तलगायतले कम्पनीको २५ वर्षे यात्राबारे प्रस्तुति दिएका थिए। नेपाल उद्योग वाणिज्य महासंघ वीरगञ्जका अध्यक्ष हरि गौतमलगायत उद्योगीहरूले उद्योगको विकासका लागि राज्यले आवश्यक वातावरण तयार गर्नुपर्नेमा जोड दिएका थिए।



