

काठमाडौं – मेरुदण्ड बाङ्गिने समस्या अर्थात् स्कोलियोसिस समयमै पहिचान गरी उपचार गर्न सके बिरामीले सामान्य जीवन बिताउन सक्ने चिकित्सकहरूले बताएका छन्। ढाड बिस्तारै बाङ्गिने भएकाले सुरुआती चरणमा दुखाइ नहुने हुँदा धेरै बिरामीमा समस्या ढिलो पत्ता लाग्ने गरेको उनीहरूको भनाइ छ।
बीएण्डबी अस्पतालका हाडजोर्नी तथा मेरुदण्डका परामर्शदाता तथा स्पाइन शल्यचिकित्सक डा. राजेश के. चौधरीका अनुसार स्कोलियोसिस मेरुदण्डको हड्डी विकास हुने क्रममा देखिने समस्या हो। यो प्रायः जन्मजात हुने भए पनि धेरैजसोमा बालबालिका हुर्किने क्रममा मात्र पहिचान हुन्छ। उनले यो समस्या सामान्यतया वंशाणुगत (हेरिडिटी) नहुने स्पष्ट पारे।
उनका अनुसार स्कोलियोसिस भएको बालबालिकामा सुरुआतमा दुखाइ नहुने भएकाले अभिभावकले ढाडको बनावटमा ध्यान दिन आवश्यक छ। एउटा काँध अर्कोभन्दा माथि वा तल देखिनु, शरीरको सन्तुलन नमिल्नु वा बच्चालाई अगाडि निहुराउँदा ढाडको एक भाग बढी उठेको देखिनु स्कोलियोसिसको महत्वपूर्ण संकेत हुन सक्छ। यस्तो अवस्थामा विशेषज्ञ चिकित्सकसँग परामर्श लिन ढिलाइ गर्नुहुँदैन।
डा. चौधरीका अनुसार समाजमा प्रचलित धेरै भ्रममध्ये लामो समय एउटै तरिकाले बस्दा, भारी ब्याग बोक्दा वा मोबाइल फोन धेरै चलाउँदा स्कोलियोसिस हुन्छ भन्ने धारणा गलत हो। यस्ता कारणले ढाड दुख्ने समस्या आउन सक्छ, तर स्कोलियोसिस भने हुँदैन।
उनले उपचारको योजना बिरामीको उमेर, मेरुदण्ड कति डिग्री बाङ्गिएको छ र अझै वृद्धि हुने अवस्था बाँकी छ कि छैन भन्ने आधारमा तय हुने बताए। साना बालबालिकामा नियमित निगरानी, एक्स–रेमार्फत अनुगमन तथा आवश्यक परे विशेष ब्रेइस प्रयोग गरिन्छ भने अवस्था जटिल भए शल्यक्रिया आवश्यक पर्न सक्छ। “उमेर बढेपछि पनि ढाड सिधा बनाउन सकिन्छ, तर जति छिटो उपचार गरियो त्यति नै राम्रो नतिजा आउँछ,” उनले भने।
उनका अनुसार करिब १८ वर्षपछि मेरुदण्डको वृद्धि रोकिन्छ। त्यसपछि पनि ढाड अत्यधिक बाङ्गिएको, नशा च्यापिएको वा लगातार दुखाइ हुने अवस्थामा औषधि, फिजियोथेरापी र आवश्यक परे शल्यक्रियाबाट उपचार गरिन्छ। पछिल्लो समय १० वर्षभन्दा माथिका किशोर–किशोरीहरू उपचारका लागि बढी आउने गरेको उनले जानकारी दिए।
स्कोलियोसिसको समयमै उपचार नभए मेरुदण्डको बाङ्गोपन बढ्दै जान सक्छ। विशेषगरी ५०–६० वर्षको उमेरसम्म पुग्दा ढाड ९० डिग्रीभन्दा बढी बाङ्गिएमा फोक्सो र मुटुको कार्यक्षमतामा असर पर्नुका साथै श्वासप्रश्वासमा समेत समस्या आउन सक्ने डा. चौधरीले चेतावनी दिए। केही बिरामीमा नशा च्यापिने, हातखुट्टा कमजोर हुने तथा दैनिक क्रियाकलापमा कठिनाइसमेत देखिन सक्छ।
उनले अभिभावकलाई बालबालिकाको शारीरिक विकासमा नियमित ध्यान दिन आग्रह गर्दै विद्यालयमा हुने स्वास्थ्य परीक्षणमा पनि मेरुदण्डको परीक्षण समावेश गर्नुपर्ने आवश्यकता औँल्याए। प्रारम्भिक चरणमै पहिचान गर्न सके धेरै बिरामीमा जटिल अवस्था आउन नदिई उपचार सम्भव हुने उनको भनाइ छ।
डा. चौधरीका अनुसार आधुनिक स्पाइन शल्यक्रिया तथा पुनःस्थापना उपचारका कारण अहिले स्कोलियोसिस भएका अधिकांश बिरामी उपचारपछि अध्ययन, रोजगारी, खेलकुद तथा दैनिक जीवनका गतिविधि सामान्य रूपमा सञ्चालन गर्न सक्षम हुने गरेका छन्।



