

काठमाडौं – भोटेकोसी बाढीबाट प्रभावित नागरिकलाई राखिएको रसुवास्थित होल्डिङ सेन्टरमा २५ जनालाई झाडापखाला देखिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका २५ जनामा झाडापखालाको समस्या देखिएको जानकारी दिएका हुन्।
सचिव देवकोटाका अनुसार हालसम्म अन्य गम्भीर स्वास्थ्य समस्या भने देखिएको छैन। उनले प्रभावित क्षेत्रमा परेला रोगका बिरामी पनि फेला नपरेको बताए।
उनले भोटेकोसी र त्रिशूलीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका करिब डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको जानकारी दिए।
“अहिले बाढी प्रभावित क्षेत्रमा डेढ लाख जनसंख्या रहेको हाम्रो आकलन हो। डेटा संकलनका लागि हामीले प्रदेश सरकार र हाम्रा विभिन्न संयन्त्रमार्फत तथ्यांक संकलन गरेका हौँ। केही तलमाथि हुनसक्छ,” उनले भने।
देवकोटाले बाढीपछि स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतीबाट महत्वपूर्ण पाठ सिकिएको भन्दै आगामी दिनमा निर्माण हुने स्वास्थ्य संरचनालाई जलवायु अनुकूल बनाउनुपर्नेमा जोड दिए।
उनका अनुसार भौगोलिक अवस्था र तापक्रमलाई ध्यानमा राखेर भवन निर्माणको अवधारणा अघि बढाउन आवश्यक छ। त्यसका लागि मन्त्रालयले आवश्यक योजनाको तयारी गरिरहेको उनले बताए।
स्वास्थ्य संरचना निर्माण गर्दा आपत्कालीन अवस्थामा सहज रूपमा स्वास्थ्य सेवा लिन सकिने गरी नजिकका स्वास्थ्य संस्थाको अवस्थालाई समेत आधार बनाउनुपर्नेमा उनले जोड दिए।
बागमती प्रदेश सरकार तथा सरकारका विभिन्न संयन्त्रमार्फत संकलन गरिएको तथ्यांकका आधारमा बाढीबाट प्रभावित जनसंख्याको प्रारम्भिक आकलन गरिएको मन्त्रालयले जनाएको छ।
सचिव देवकोटाले विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणका लागि ‘जलवायु उत्थानशील संरचना’ सहितको गुरुयोजना निर्माणको तयारी भइरहेको पनि जानकारी दिए।



