

काठमाडौँ – सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरबाहिर महिलाले शिशु जन्माएको घटनाको स्थलगत छानबिनका क्रममा बयान लिने काम सकिएको छ।
घटनाको छानबिनका लागि राजविराज पुगेको नेपाल मेडिकल काउन्सिलको टोलीले शुक्रबार अस्पतालमा ड्युटीमा रहेका कर्मचारी, नर्सिङ स्टाफ, निमित्त मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल निर्देशक तथा घटनासँग सम्बन्धित अन्य व्यक्तिसँग बयान लिएको हो। काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठका अनुसार पीडित पक्षका आमाबुबासँग समेत सोधपुछ गरी बयान दर्ता गरिएको छ।
उनका अनुसार घटनास्थलको निरीक्षणसँगै सम्बन्धित व्यक्तिहरूको बयान लिने काम पूरा भएको छ। अब टोली काठमाडौँ फर्किएपछि संकलित बयानलाई विद्यमान नियम तथा कानुनसँग तुलना गरेर घटनामा कसको कमजोरी वा लापरबाही भएको हो भन्नेबारे विस्तृत अध्ययन गरिनेछ।
छानबिनपछि तयार हुने अन्तिम प्रतिवेदन सम्बन्धित निकायमा बुझाइनेछ। उक्त प्रतिवेदनका आधारमा घटनामा दोषी देखिएकामाथि के-कस्तो कारबाही गर्ने र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने निर्णय हुने काउन्सिलको टोलीले जनाएको छ।
घटनाको स्थलगत छानबिनका लागि काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगेको थियो। घटनाका बेला ड्युटीमा रहेका कर्मचारीलाई तत्काल कामकाजबाट हटाएर आवश्यक छानबिनसमेत सुरु गरिएको छ।
सुत्केरी बेथाले च्यापेपछि पत्नी बबितालाई लिएर अस्पताल पुगेका सप्तरीका हरेराम पासवानसँग परीक्षण शुल्क तिर्न पर्याप्त रकम नभएको घटनाबाट उक्त विषय सार्वजनिक भएको थियो। अस्पतालमा रगत परीक्षणका लागि ३२ सय रुपैयाँ आवश्यक परेकोमा पासवान दम्पतीसँग २ हजार रुपैयाँ मात्रै थियो।
आफन्तबाट समेत रकम जुट्न नसकेपछि हरेराम श्रीमतीलाई लिएर चिनेजानेका औषधि पसलेसँग सापटी माग्न बाहिरिएका थिए। तर, रातिको समयमा बजारका पसल बन्द भएकाले उनीहरू बिहान पसल खुल्ने पर्खाइमा अस्पतालबाहिर बस्न बाध्य भएको बताइएको छ।
यसै क्रममा बिहान करिब साढे ४ बजे बबिताले अस्पतालछेउकै सडकपेटीमा शिशु जन्माएकी थिइन्। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्वास्थ्य सेवामा पहुँच, अस्पतालको व्यवहार र आर्थिक अभावका कारण बिरामीले भोग्नुपरेको समस्याबारे प्रश्न उठेको थियो।



