

काठमाडौं- औषधि व्यवस्था विभागले नियमअनुसार दर्ता तथा सूचीकृत नगरी जडिबुटीजन्य सुगन्धित तेलको विज्ञापन, प्रचार–प्रसार तथा बिक्री–वितरण नगर्न उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ।
विभागले सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यमबाट जडिबुटीजन्य सुगन्धित तेलका विभिन्न स्वास्थ्य लाभ र चिकित्सकीय दाबी गर्दै विज्ञापन तथा प्रचार–प्रसार भइरहेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएको हो।
विभागले सूचना जारी गर्दै औषधि ऐन, २०३५ तथा जडिबुटीजन्य सुगन्धित तेलको खाने र बाह्य प्रयोगका लागि प्रचलनमा रहेका उत्पादनको सूचीकृतसम्बन्धी न्यूनतम मापदण्ड, २०८१ अनुसार विभागमा सूचीकृत नभई यस्ता उत्पादन बिक्री–वितरण गर्न नपाइने जनाएको छ।
त्यस्तै, औषधि ऐन, २०३५ को दफा १९ तथा औषधि दर्ता नियमावली, २०३८ को नियम ७ बमोजिम विज्ञापनको अनुमति नलिई कुनै पनि प्रकारको विज्ञापन तथा प्रचार–प्रसार गर्न नपाइने विभागले स्पष्ट पारेको छ। अनुमति नलिई त्यस्तो कार्य गरे औषधि ऐनको उल्लंघन मानिने विभागले जनाएको छ।
विभागले यस्तो कार्य नगर्न–नगराउन तथा भइरहेको भए तत्काल बन्द गर्न सम्बन्धित उत्पादक तथा आयातकर्तालाई आग्रह गरेको छ। साथै, यस्ता उत्पादनका उत्पादक तथा आयातकर्तालाई आवश्यक कागजात र प्रक्रिया पूरा गरी यथाशीघ्र विभागमा दर्ता तथा सूचीकृत हुनसमेत आग्रह गरिएको छ।
न्यूनतम मापदण्डअनुसार सूचीकृत हुन निवेदनसँग संस्थाको विधान, संस्था दर्ता भएको प्रमाणपत्र, स्थायी लेखा नम्बर, जग्गाधनी प्रमाण पुर्जा र नक्साको प्रतिलिपि तथा कार्यरत जनशक्ति, प्रविधि र भौतिक पूर्वाधारसम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गर्नुपर्नेछ।
उत्पादन स्थलमा स्वच्छता कायम गर्दै स्वच्छ पानीको व्यवस्था गर्नुपर्ने, उत्पादनको बनोट वा संरचनाको आधार पेश गर्नुपर्ने तथा कच्चा पदार्थ र तयार उत्पादन सुरक्षित रूपमा भण्डारण गरी त्यसको अद्यावधिक अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, उत्पादनको मूल्य घोषणा गर्नुपर्ने, कच्चा पदार्थ तथा प्याकेजिङ सामग्री आयात गर्नुपरे विभागबाट पैठारी दर्ता प्रमाणपत्र तथा सिफारिसपत्र लिनुपर्ने र उत्पादनको विवरण, प्याकेजिङ सामग्रीको विवरण तथा प्याकेजिङको नमुना स्वीकृत गराउनुपर्नेछ।
उत्पादनबाट जनस्वास्थ्यमा कुनै हानि–नोक्सानी नहुने प्रत्याभूतिसहितको कबुलियतनामा पनि पेश गर्नुपर्नेछ। आवश्यकताअनुसार उत्पादन सुरु गर्नुअघि विभागले निरीक्षणसमेत गर्न सक्ने जनाएको छ।
सूचीकृत भइसकेपछि उत्पादकले वार्षिक उत्पादन तथा बिक्री–वितरणको विवरण विभागमा अद्यावधिक गर्नुपर्नेछ। साथै, उत्पादनको लेबलमा ‘रोग उपचारका लागि नभएको’ भन्ने स्पष्ट उल्लेख गर्नुपर्ने र कुनै पनि प्रकारको चिकित्सकीय वा औषधीय दाबी गर्न नपाइने विभागले जनाएको छ।
उत्पादनका सम्बन्धमा उजुरी वा कैफियत प्रमाणित भएमा जुनसुकै समयमा सूचीकृतबाट हटाउन सकिने तथा तोकिएका शर्त पालना नगरे प्रचलित कानूनबमोजिम कारबाही गर्न सकिने विभागले चेतावनी दिएको छ।



