

काठमाडौं – पैसा तिर्न नसकेको भन्दै सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रसूति व्यथा लागेकी महिलालाई भर्ना नगरेपछि सडक पेटीमै बच्चा जन्माएको घटनामा अस्पतालले ६ जना कर्मचारीलाई कामबाट हटाएको छ।
अस्पतालले शुक्रबार सूचना जारी गर्दै डा. उषा देवदेखि सुरक्षा गार्ड देवकान्त झासम्म ६ जनालाई छानबिन प्रतिवेदन नआएसम्मका लागि कामकाजबाट हटाइएको जनाएको हो।
कामबाट हटाइनेमा डा. उषा देव, सुरक्षा गार्ड देवकान्त झा, स्टाफ नर्सद्वय मनिषा कुमारी साह र सजन चौधरी, कास रेणु ठाकुर तथा स्वीपर कृष्ण मेहतर रहेका छन्।
गत मंगलबार राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानले अस्पतालले भर्ना नलिएपछि सडक पेटीमै बच्चा जन्माएकी थिइन्। अस्पताल परिसरबाहिर सडक पेटीमै सुत्केरी भएको दृश्य सार्वजनिक भएपछि घटनाको चौतर्फी आलोचना भएको थियो।
घटनापछि सरकारले छानबिन समिति गठन गरेको थियो। समितिले घटनाबारे अध्ययन तथा अनुसन्धान गरिरहेको छ।
अस्पतालले छानबिन समितिको प्रतिवेदन प्राप्त नभएसम्म सम्बन्धित ६ कर्मचारीलाई कामबाट अलग राख्ने निर्णय गरेको जनाएको छ।



