
काठमाडौं – नेपाल औषधि लिमिटेडले उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलको उपचारमा प्रयोग हुने तीन प्रकारका औषधि उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।
लिमिटेडका अनुसार एटोरभास्टिन (कोलेस्ट्रोल), मेटफरमिन (मधुमेह) र एम्लोडिपिन (उच्च रक्तचाप) औषधि आगामी आर्थिक वर्षभित्र बजारमा ल्याउने लक्ष्यसहित प्रक्रिया अघि बढाइएको हो ।
सूचना अधिकारी दिनेशप्रसाद भट्टराईका अनुसार यी तीन औषधिसहित करिब ३७ प्रकारका औषधि उत्पादन तयारीमा छन् । एटोरभास्टिन औषधि औषधि व्यवस्था विभागबाट अनुमति लिने प्रक्रियामा रहेको छ भने अन्य औषधि अनुसन्धान तथा विकास चरणमा छन् ।
मेटफरमिन ५०० र ८५० मिलिग्राम तथा एम्लोडिपिन २.५ र ५ मिलिग्राम औषधि हाल विकास प्रक्रियामा रहेको लिमिटेडले जनाएको छ । यी औषधि अनुमोदन प्रक्रिया पूरा भएपछि मात्र बजारमा ल्याइनेछ ।
लिमिटेडले एस्पिरिन, अल्बेन्डाजोल, एजिथ्रोमाइसिन, सेट्रिजिन, डिक्लोफेनाक, रानिटिडिन, भिटामिन बी कम्प्लेक्स लगायत दर्जनौँ औषधि पनि उत्पादन तयारी वा विकास चरणमा रहेको जनाएको छ ।
लिमिटेडका अनुसार सरकारी स्वास्थ्य संस्थामार्फत वितरण हुने ९८ प्रकारका अत्यावश्यक औषधिमध्ये धेरै उत्पादन आन्तरिक रूपमा गर्ने लक्ष्य राखिएको छ । यसबाट औषधि आयात घटाउने, मूल्य सुलभ बनाउने र गुणस्तर सुनिश्चित गर्ने उद्देश्य रहेको छ ।
गुणस्तर आश्वासन इन्चार्ज हीना श्रेष्ठका अनुसार उत्पादनमा गुणस्तर कायम राख्दै बजारको माग पूरा गर्ने लक्ष्य राखिएको छ ।
सरकारले लिमिटेडबाट उत्पादित औषधि सरकारी अस्पताल तथा खुला बजार दुवैमा उपलब्ध गराउने व्यवस्था गर्ने तयारी गरेको छ ।
लिमिटेड २०२९ सालमा स्थापना भई २०६४ सालपछि बन्द भएको थियो भने २०७४ सालदेखि पुनः सञ्चालनमा आएको हो । हाल हेमोडायलाइसिस औषधि, सिटामोल, फोलिक एसिड, जीवनजल लगायतका औषधि उत्पादन भइरहेको छ ।
महानिर्देशकका अनुसार पर्याप्त बजेट र जनशक्ति थप भएमा उत्पादन क्षमता अझ बढाउन सकिनेछ, तर हालको संरचनामा सबै लक्ष्य पूरा गर्न चुनौती रहेको छ ।


