
काठमाडौं — अमेरिका–इरानबीच जारी युद्धका क्रममा स्वास्थ्य क्षेत्र प्रत्यक्ष निशानामा पर्दा स्वास्थ्यकर्मीहरुले मृत्युवरण गर्नुपरेको छ ।
हालसम्म इरानका विभिन्न स्थानमा गरि ११ जना स्वास्थ्यकर्मीको ज्यान गएको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ । युद्धका कारण अस्पतालहरु ध्वस्त हुने क्रमपनि जारी छ । युद्धको निशानामा अस्पताल पर्दा हालसम्म १८ वटा स्वास्थ्य संस्था ध्वस्त भएका छन् भने ६ वटा अस्पताल खाली गराइएको छ । डब्लुएचओ अनुसार हालसम्म २५ वटा अस्पतालमा आंशिक क्षति पुगेको छ ।
डब्लुएचओका अनुसार युद्ध सुरु भएयता इरानमा दर्जनौं स्वास्थ्यकर्मी घाइते भएका छन्। युद्धका क्रममा स्वास्थ्य सेवा दिने व्यक्ति नै असुरक्षित बन्नु गम्भीर चिन्ताको विषय भएको छ।
आक्रमणका कारण केही अस्पताल पूर्ण रूपमा बन्द भएका छन् भने कतिपय सीमित सेवामा सञ्चालन भइरहेको जनाइएको छ। यसले आपतकालीन सेवा, शल्यक्रिया तथा दैनिक उपचारमा गम्भीर अवरोध सिर्जना गरेको छ। जसले गर्दा घाइतेको उपचार प्रभावित भएको छ भने औषधि आपूर्ति अवरुद्ध भएको छ । एम्बुलेन्स सेवा प्रभावित हुँदा समयमै बिरामीलाई उपचारको पहुँचमा पुर्याउन सकिएको छैन ।
डब्लुएचओका महानिर्देशक टेड्रोसले ले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथिको आक्रमण अस्वीकार्य भएको भन्दै यसले मानवीय संकटलाई अझ गम्भीरता तर्फ धकेलेको टिप्पणी गरेका छन् । युद्ध निरन्तर रहेमा घाइतेको मृत्यु दर बढ्ने, संक्रामक रोग फैलिने जोखिम बढ्ने र मानसिक स्वास्थ्य समस्या तीव्र हुने खतरा छ । डब्लुएचओले तत्काल स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह समेत गरेको छ।



