काठमाडौँ- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबिच ट्राफिक प्रहरीलाई इन्फ्लुएन्जा (फ्लू) रोगविरुद्धको खोप लगाउनेबारे सम्झौता भएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्की र अस्पतालका निर्देशक डा युवानिधि बसौलाबिच सहमति पत्रमा शनिबार हस्ताक्षर भएको छ । अस्पतालका निर्देशक डा बसौलाले सहमतिअनुसार शनिबारदेखि ट्राफिक प्रहरीलाई खोप लगाउन थालिएको जानकारी दिए । उनका अनुसार आज १५ जनालाई इन्फ्लुएन्जा (श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण) विरुद्धको खोप लगाइएको छ ।
जाडो बढेसँगै इन्फ्लुएन्जाबाट सुरक्षित रहनका लागि खोप लगाइएको उनले बताए । जाडो महिनामा धेरै सक्रिय हुने इन्फ्लुएन्जा भाइरसको सङ्क्रमण शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिलाई हुनसक्ने भएकाले सबैलाई सचेत रहन उनले आग्रह गरे ।








