पोखरा- पोखरामा जलन (बर्न) अस्पताल निर्माणका लागि आवश्यक परामर्श तथा सम्भाव्यता अध्ययन औपचारिक रूपमा सुरु भएको छ। पोखरा–२७ स्थित साविक लेखनाथ नगरपालिका कार्यालयको जग्गामा महानगरले १०० श्यायाको जलन तथा विशेषज्ञ अस्पताल निर्माण गर्ने योजना अघि सारेको हो।
यस महत्वाकांक्षी योजनामा कोरियन सहयोग नियोग (कोइका)ले सहयोग गर्ने भएको छ। सम्भाव्यता अध्ययनका लागि कोइकाको प्राविधिक टोली पोखरा आइपुगेको महानगर प्रमुख धनराज आचार्यले बताए। उनका अनुसार कोइकाका देशीय निर्देशक मुहोन कोङसहित विभिन्न विषयका १७ जना कोरियाली विशेषज्ञहरू पोखरामा नै बसेर अस्पताल निर्माणसम्बन्धी आवश्यक परामर्श र अध्ययन गरिरहेका छन्।
महानगर प्रमुख आचार्यले भने, “पोखरामा विशिष्टीकृत बर्न हस्पिटल बन्ने कुरा अब निश्चित भइसकेको छ। अस्पताल बनेपछि पोखरा र आसपासका बासिन्दाले अत्याधुनिक प्रविधिसहितको विशेषज्ञ उपचार सेवा घरदैलोमै पाउनेछन्। कोइकाको उच्चस्तरीय टोलीले विस्तृत अध्ययन सुरु गरिसकेको छ।”
विसं २०८१ फागुन ३ गते पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहका क्रममा बेलुन विस्फोट हुँदा तत्कालीन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र महानगर प्रमुख आचार्य जलेर घाइते भएका थिए। पोखरामा जलन उपचार उपलब्ध नहुँदा दुबैजना काठमाडौंमा उपचार गर्न बाध्य हुनुपरेको थियो।
उक्त घटनापछि पोखरामा अत्याधुनिक बर्न हस्पिटलको आवश्यकता झनै स्पष्ट भएपछि महानगर प्रमुख आचार्यले यस्तो अस्पताल निर्माण गर्ने घोषणा गरेका थिए। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै बर्न अस्पताल निर्माणलाई प्राथमिकताका साथ समेटिएको छ।
महानगरका अनुसार साविक लेखनाथ नगरपालिका कार्यालय रहेको ३ रोपनी क्षेत्रमा वडा नं २७ को कार्यालय भवन निर्माण भइसकेको छ। साथै ५ रोपनी क्षेत्रमा एसियाली विकास बैंकको सहयोगमा विपद् व्यवस्थापन केन्द्र निर्माण प्रक्रिया अघि बढिरहेको छ। बाँकी २८ रोपनी जग्गामा जलन अस्पतालसँगै प्रसूति एवं स्त्रीरोग, बालरोग, ट्रमा, मिर्गौला तथा अन्य आवश्यक विशिष्ट सेवासहितको ‘स्पेशलाइज्ड हस्पिटल’ निर्माण गर्ने तयारी महानगरले गरेको छ।








