कैलाली- सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र, धनगढीबाट हराएको सामान अझै कार्यालयमा फिर्ता भइसकेको छैन। गत भदौ २३ सम्म केन्द्रका कार्यालय प्रमुख रहेका हेमराज खड्काले २४ प्रकारका ३१ मध्ये ३० सामान अझै बुझाएका छैनन्।
केन्द्रले उपलब्ध गराएको जिन्सी विवरण अनुसार, एक थान स्कारपियो जिपदेखि ल्यापटप, कम्प्युटर, एसी, प्रोजेक्टर, फ्रिज, ट्रेडमिल, क्रस ट्रेनरलगायतका उपकरण खरिद भइसके पनि कार्यालयमा फेला नपरेको उल्लेख छ। अहिले स्वास्थ्य तालिम केन्द्र धनगढीमा कार्यरत खड्काले स्वास्थ्य प्रवर्द्धन केन्द्रको स्कारपियो जिपसहित अधिकांश सामग्री तीन महिनादेखि फिर्ता गरेका छैनन्।
खड्काले मंसिर २१ गते आइतबार सबै सामान बुझाउने आश्वासन दिए पनि उनले केवल एक थान ट्रेडमिल मात्र कार्यालयमा दाखिला गरेका छन्, निमित्त प्रमुख तेजविक्रम शाहीका अनुसार आइतबार ट्रेडमिल एक थान मात्र फिर्ता गरिएको हो।
फिर्ता नभएका ३० सामान: जिपदेखि एसी, प्रोजेक्टरसम्म
जिन्सी अभिलेखअनुसार ४० लाख मूल्य अनुमान गरिएको स्वास्थ्य प्रवर्द्धन केन्द्रको स्कारपियो जिप अहिले कार्यालयमा छैन। उक्त जिप खड्काले व्यक्तिगत प्रयोगमा राखेको बताइएको छ।
त्यसैगरी, सात लाख ५९ हजार ९२६ रुपैयाँ मूल्य बराबरका ६ थान ल्यापटप, ९० हजार ४ सय मूल्यका ४ थान यात्रुजन्य साधन, दुई लाख २० हजार १९६ मूल्यका कम्प्युटर तथा दूरसञ्चार सामग्री, एक लाख २० हजार २ सयका ४ थान प्रिन्टर, ६५ हजार ५४० को प्रोजेक्टर, एक लाख ९३ हजार मूल्यको डिजिटल डिस्प्ले बोर्ड पनि कार्यालयमा फेला परेका छैनन्।
जिन्सी अभिलेखमा उल्लेख भएअनुसार ४ हजार ४४८ मूल्यका दुई थान हिटर, २५ हजार ५३८ का पाँच थान सिलिङ फ्यान, ४ हजार ४९५ को टेबल फ्यान, १ लाख ४५ हजार मूल्यका दुई थान एसी, २५ हजारको फ्रिज, १८ हजार १९१ को युपिएस, ३१ हजार ३०४ को ब्याट्री, १९ हजारका अन्य विद्युतीय सामग्री पनि गायब छन्।
दुई थान ट्रेडमिलमध्ये एक थान मात्र फिर्ता गरिएको छ भने एक लाख ५९ हजार ९९८ मूल्यको क्रस ट्रेनर, ६४ हजार ९९९ को भाइब्रेटर, ९९ हजार ४४० मा तयार गरिएको वेबसाइटसमेत कार्यालयमा नभेटिएको जिन्सी विवरणले देखाएको छ।
जिन्सी अभिलेखमा उल्लेखित जिप बाहेक मात्र २२ लाख ८० हजार २९४ मूल्य बराबरको सामग्री गायब रहेको देखिएको छ। यी सामग्री कहाँ गए भन्ने विषयमा भने कुनै स्पष्टता छैन।
सबै सामान सचिवकै अगाडि बुझाउँला : खड्का
पूर्व प्रमुख खड्काले सम्पर्क गर्दा उनले सामाजिक विकास मन्त्रालयका सचिवको रोहवरमा सबै सामान बुझाउने दाबी गरे। हाल नवौं तहमा बढुवा भई स्वास्थ्य तालिम केन्द्र धनगढी सरुवा भएका उनले फेरि प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रकै हाकिम बन्न प्रयत्न गरिरहेको मन्त्रालय स्रोतको आरोप छ।
मन्त्रालय स्रोतका अनुसार खड्काले मुख्यमन्त्री कमलबहादुर शाह र सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्कालाई प्रभावित बनाएर आफूलाई पुनः केन्द्र प्रमुख बनाउन दबाब दिइरहेका छन्।
सरुवा भएको तीन महिना बित्दा पनि गाडीदेखि ६० लाखभन्दा बढी मूल्यका सामग्री नबुझाएको स्रोतको दाबी छ। तर सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले आफूले कुनै किसिमको दबाब नदिएको बताइकी छन्।








