काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर सञ्चालनमा रहेका सबै एम्बुलेन्स र शववाहनको विवरण अनिवार्य रूपमा उपलब्ध गराउन सम्बन्धित सबै संस्थालाई निर्देशन दिएको छ।
मन्त्रालयले आज सार्वजनिक गरेको सूचनामा आगामी मङ्सिर २१ गतेभित्र आवश्यक विवरण मन्त्रालयको इमेल ठेगानामा पठाउन अनुरोध गरिएको छ।
सूचनामा प्रभावकारी, व्यवस्थित, मितव्ययी र सेवाग्राहीमैत्री एम्बुलेन्स तथा शववाहन सेवा सुनिश्चित गर्न एकीकृत प्रणालीलाई सुदृढ बनाउनु आवश्यक भएकाले देशभर सञ्चालनमा रहेका सबै सेवा प्रदायक संस्थाले आफ्ना सवारीसाधनको अद्यावधिक विवरण अनिवार्य रूपमा पठाउनुपर्ने उल्लेख छ।
हाल ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ र ‘शववाहन सेवा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७७’ कार्यान्वयनमा रहेकाले त्यसअनुसार सेवा व्यवस्थित गर्न मन्त्रालयले पुनः ध्यानाकर्षण गराएको छ।









