काठमाडौं- नेपाल मेडिकल काउन्सिलले शिक्षा कन्सल्टेन्सीहरूसँग मिलेर व्यापारिक प्रचारप्रसारमा सहभागी भएका केही चिकित्सकप्रति गम्भीर आपत्ति जनाएको छ। काउन्सिलमा दर्ता भएका चिकित्सकहरूले आफ्नो नाम, फोटो, डिग्री तथा पदवीलाई शिक्षा परामर्श व्यवसायको विज्ञापनमा प्रयोग गरेकोबारे परेको उजुरीपछि काउन्सिलले यसप्रति कडा ध्यानाकर्षण गराएको हो।
काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले विज्ञप्ति जारी गर्दै चिकित्सकहरूले कन्सल्टेन्सीका साइनबोर्ड, ब्रोसर, पम्प्लेट तथा अन्य प्रचार सामग्रीमा आफूलाई ‘ब्रान्ड’ का रूपमा प्रस्तुत गर्नु नै कोड अफ इथिक्स तथा प्रोफेसनल कन्डक्ट्सको उल्लंघन हुने उल्लेख गरेका छन्।
विज्ञप्तिमा काउन्सिलको आचारसंहिता तथा व्यवहार नियमावलीको बुँदा नं. ५(ए) को स्पष्ट उल्लंघन हुने गरी चिकित्सकको पहिचान प्रयोग गर्दै शैक्षिक परामर्श प्रदान गरिएको पाइएकाले यस्तो गतिविधि तत्काल रोक्न चिकित्सकहरूलाई निर्देशनसमेत दिइएको उल्लेख छ।










