डडेल्धुरा- डडेल्धुरा अस्पतालले ओपीडी सेवा दुई सिफ्टमा सञ्चालन गर्न थालेको छ। यसअघि एकै सिफ्टमा मात्र सेवा सञ्चालन हुँदा दिउँसो २ बजे अस्पताल पुगेका बिरामीलाई इमर्जेन्सी टिकट काट्नुपर्ने वा अर्को दिन पुनः आउनुपर्ने बाध्यता थियो। सुदूरपश्चिमका सात पहाडी जिल्लाका सर्वसाधारण यही समस्याले हैरान भइरहेका थिए।
११औँ तहका मेडिकल सुपरिन्टेन्डेन्ट नियुक्त भएपछि पहिलोपटक अस्पतालमा सेवा समयबारे प्रभावकारी परिवर्तन गरिएको हो। दुई सिफ्टमा सेवा सुरु गरिएको जानकारी मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुधा देवकोटाले दिइन्। उनका अनुसार अब दिउँसोपछि अस्पताल पुगेका बिरामीले सहजै ओपीडी सेवा पाउनेछन्, जसले इमर्जेन्सी टिकट काट्नुपर्ने झन्झट अन्त्य गरेको छ।
डा. देवकोटाका अनुसार पहिले २ बजेपछिका बिरामीलाई चिकित्सकले हेर्छु भने मात्र इमर्जेन्सी टिकट काटिन्थ्यो, अन्यथा टिकट नै नदिइने भएकाले धेरै बिरामी अन्यत्र जान बाध्य हुन्थे। “कार्यालय समयसम्म सबै चिकित्सकले काम गर्नुपर्छ भन्ने बुझाइसहित दुई सिफ्टमा ओपीडी व्यवस्थित गरिएको हो,” उनले भनिन्।
हाल ओपीडीको पहिलो सिफ्ट दिउँसो १२:३० बजेसम्म र दोस्रो सिफ्ट १:३० बजेपछि सञ्चालन हुन्छ। चिकित्सकलाई बीचमा एक घण्टाको खाजाविराम, चिसो याममा डेढ घण्टा र गर्मीयाममा दुई घण्टासम्म दोस्रो सिफ्ट सञ्चालन गरिने व्यवस्था मिलाइएको छ।
डा. देवकोटाले दुई सिफ्टमा ओपीडी सुरु हुनु अस्पताल र बिरामी दुवैका लागि ठूलो राहत भएको बताइन्। अब टाढाबाट आउने बिरामीले पनि इमर्जेन्सी टिकट नकटाई उपचार पाउने भएकाले सेवामा सहजता आउने उनको विश्वास छ।
डडेल्धुरा अस्पताल सुदूरपश्चिम प्रदेशको एकमात्र संघीय मातहतको विशेषज्ञ सेवा उपलब्ध अस्पताल हो। तर, आवश्यक दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा चुनौती कायम रहेको मेसुले बताइन्। हाल अस्पतालमा १९ विशेषज्ञ तथा २५ मेडिकल अधिकृत कार्यरत छन्।
सबैभन्दा बढी बिरामी बालबालिका आउने भए पनि अस्पतालमा बालरोग विशेषज्ञ नभएकै कारण उनीहरूले विशेषज्ञ सेवा पाउन सकेका थिएनन्। तर एक जना बालरोग विशेषज्ञ आउन इच्छुक रहेको र चाँडैै अस्पतालमा उपस्थित हुने जानकारी पनि मेसु देवकोटाले दिइन्।
अस्पतालमा अहिले तीन स्त्रीरोग विशेषज्ञ, चार शल्य चिकित्सक, तीन हाडजोर्नी विशेषज्ञ, तीन मेडिसिन चिकित्सकलगायत गरी बिदामा रहेका समेत १७ विशेषज्ञ सेवा दिइरहेको अस्पतालले जनाएको छ। नाक–कान–घाँटी, छाला–कपाल–नङ र बालरोग बाहेकका अधिकांश आवश्यक सेवा अस्पतालमै उपलब्ध रहेको डा. देवकोटाले बताइन्।









