काठमाडौं– स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य प्रणालीले पछिल्ला वर्षमा उल्लेख्य प्रगति गरे पनि आन्तरिक कमजोरी हटाउन सबै तहको प्रतिवद्धता अझै आवश्यक रहेको बताएकी छन्। उनले सरकारी स्वास्थ्य सेवामा काम गर्ने कर्मचारीसँग पर्याप्त ज्ञान, क्षमता र तालीम भए पनि व्यवहारिक उपयोगमा ‘खिया लागेको’ जस्तो अवस्था देखिनु चिन्ताजनक रहेको टिप्पणी गरिन्।
नेशनल ज्वाइन्ट एनुअल रिभ्यू कार्यक्रममा बोल्दै मन्त्री गौतमले स्रोत–साधन प्रभावकारी रुपमा प्रयोग हुन नसक्नु गम्भीर समस्या भएको बताइन्। हालैका केही घटनाले व्यवस्थापनमा रहेको कमजोरीबारे महत्वपूर्ण शिक्षा दिएको भन्दै उनले भनिन्, “मानिसको मनभित्रको आक्रोशलाई भोलि दोहोरिन नदिने गरी सिकाइको रूपमा लिनुपर्छ।”
स्वास्थ्य संस्थामा उपचारका क्रममा त्रुटि सम्भव हुने तथ्य स्वीकार्दै उनले प्रत्येक घटनाको कारण गहिरोसँग विश्लेषण गर्नुपर्ने आवश्यकता औंल्याइन्। समयमै उपचार नपुगेकाे, आवश्यक काम नगरेकाे वा सानो गल्तीसमेत गम्भीर परिणाममा पुग्न सक्ने उल्लेख गर्दै उनले भनिन्, “अब सबै आफ्नो अधिकारप्रति सचेत छन्, मुद्दा अदालतसम्म पुग्ने अवस्था छ, त्यसैले स्वास्थ्यकर्मी अझ चनाखो र जिम्मेवार हुनुपर्छ।”
समिक्षा सन्दर्भमा मन्त्री गौतमले संस्थागत सुधार, भ्रष्टाचार न्यूनिकरण र वेथिति अन्त्य सरकारको स्पष्ट म्यान्डेट भएको पुनः स्मरण गराइन्। उनले थपिन्, “कर्मचारी तन्त्र राम्रो छ, पढाइ राम्रो हो तर कामको प्रभावकारिता पर्याप्त छैन। आफ्नो प्रदर्शनलाई इमानदारिकासाथ हेरिनुपर्छ।”
उनले फेसबुक र ह्वाट्सएपमार्फत दैनिक ५०–७० सुझाव तथा गुनासोहरू प्राप्त हुने बताउँदै, उपलब्ध स्रोत–साधन तथा क्षमताको अधिकतम उपयोग गर्नुपर्ने आवश्यकता दोहोर्याइन्।









