काठमाडौं- नेप्लीज सोसाइटी अफ ग्यास्ट्रोएन्टेरोलोजिस्टका अध्यक्षको जिम्मेवारी प्राडा शशी शर्माले पाएका छन्।
२०८२ साउन १७ गते सम्पन्न निर्वाचनमार्फत प्राडा शर्माको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो। चयन भएको करिब चार महिनापछि बुधबार नयाँ कार्यसमितिले औपचारिक रूपमा पदभार ग्रहण गरेको नेपाल स्वास्थ्य समाजले जनाएको छ।
नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा प्राडा भुपेन्द्रकुमार बस्नेत, महासचिवमा डा. राहुल पाठक, सहमहासचिवमा डा. नन्दु सिलवाल पौडेल, कोषाध्यक्षमा डा. विनोद कार्की र सह–कोषाध्यक्षमा विवेककुमार पूर्वे रहेका छन्।
त्यसैगरी, एसोसिएसनका सदस्यहरूमा डा. मोहन भुसाल, डा. कुमुद भट्टराई, डा. सन्दीपराज कुवर, डा. दीपकराज पाण्डे, डा. आध्याश्री कार्की र सञ्जीत कार्की चयन भएका छन्। नयाँ कार्यसमितिको कार्यावधि दुई वर्षको रहनेछ। यसअघि सोसाइटीको अध्यक्ष प्राडा रमिला श्रेष्ठ थिइन्।
अध्यक्ष प्राडा शर्माले नयाँ कार्यसमितिले विभिन्न एकेडेमिक संस्थासँग सहकार्य गर्दै शैक्षिक कार्यक्रम विस्तार, निरन्तर सीएमई सञ्चालन र सञ्चारमाध्यमको सहयोगमार्फत स्वास्थ्य सचेतना आम नागरिकसम्म पुर्याउने योजना रहेको बताएका छन्।
उपाध्यक्ष प्राडा भुपेन्द्रकुमार बस्नेतले संस्थाले विभिन्न चुनौती पार गर्दै यहाँसम्म आइपुगेको उल्लेख गर्दै नयाँ नेतृत्वले सोसाइटीलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमका क्रममा स्वर्गीय प्राडा आईएल आचार्यलाई मरणोपरान्त सम्मान गरिएको थियो। आचार्यको परिवारले एसोसिएसनको अक्षय कोषमा १५ लाखभन्दा बढी रकम सहयोग गरेको थियो। त्यसैगरी, कोषमा एक–एक लाख रुपैयाँ सहयोग गरेका प्राडा महेश खकुरेल र ईश्वरलाल प्रतिष्ठानतर्फबाट प्राडा अरुण मास्केलाई पनि सम्मान गरिएको थियो।









