कैलाली- कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया थप अनिश्चित बन्दै गएको छ। आवेदन दर्ताको म्याद एक पटक बढाइए पनि उपकुलपतिका लागि आवश्यक योग्यता पुगेका दाबेदार नआएपछि प्रक्रिया अन्योलमा परेको हो।
उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समितिले कात्तिक १५ मा १५ दिनको समय तोकीदरखास्त आह्वान गरेको थियो। तर उपकुलपतिका लागि पर्याप्त आवेदन नआएपछि म्याद मंसिर ५ सम्म थपिएको थियो। थपिएको म्यादमा एक मात्र आवेदन परेको भए पनि आवश्यक योग्यता नपुगेकाले स्वीकृत गर्न नसकिएको जानकारी सिफारिस समितिका संयोजक तथा विश्वविद्यालय सभाका सदस्य प्रा.डा. जयराज अवस्थीले दिए।

उनले भने, “थपिएको म्यादमा एउटा आवेदन परेको थियो, तर कार्यविधिमा तोकिएका योग्यता नपुगेकाले स्वीकृत गर्न मिलेन।”
कार्यविधिअनुसार उपकुलपतिका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्सा शिक्षासँग सम्बन्धित कुनै विषय (हेल्थ प्रोफेसनल एजुकेशन) मा विद्यावारिधि, डीएम, एमसीएच वा सो सरहको उपाधि गरेको हुनुपर्ने उल्लेख छ। साथै विश्वविद्यालयमा प्राध्यापकका रूपमा कम्तिमा १० वर्ष अनुभव, शैक्षिक/प्राज्ञिक उन्नयनमा उत्कृष्ट व्यवस्थापकीय क्षमता, अनुसन्धान परियोजना सफलतापूर्वक पूरा गरेको तथा राष्ट्रिय वा अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धान प्रकाशित गरेको हुनुपर्नेछ। उमेर हद पनि स्पष्ट रूपमा तोकिएको छ। आवेदन दिने दिनसम्म उमेर ३५ वर्ष पूरा भई ६१ वर्ष ननाघेको हुनुपर्ने प्रावधान छ।

संयोजक अवस्थीले उपकुलपतिका लागि मागिएको स्तरको योग्यता भएका धेरै व्यक्तिहरू ६१ वर्षभन्दा माथि उमेरका भएकाले समस्या पैदा भएको बताए। “विद्यावारिधि र डीएम गरेका धेरै व्यक्तिको उमेर ६१ वर्ष नाघिसकेको छ। ६१ वर्षभन्दा कम उमेरका मध्ये पनि १० वर्ष प्राध्यापक अनुभव पूरा गरेका दावेदार भेटिएनन्,” उनले भने।
उनका अनुसार कार्यविधि वर्तमान ऐनअनुसार तयार भएकाले आवेदन पनि त्यही प्रावधानमा आधारित भएर आह्वान गरिएको हो। अब म्याद थप्दा पनि उपकुलपतिका लागि उपयुक्त दाबेदार नआएपछि ऐन नै संशोधन गर्ने अवस्था देखिएको अवस्थीको भनाइ छ। “सरकारले अध्यादेशमार्फत ऐन परिमार्जन गर्न सक्छ, नत्र प्रतिनिधिसभाबाट संशोधन गर्नुपर्ने देखिन्छ,” उनले भने।
यता, रजिस्ट्रारका लागि भने १० जनाको आवेदन स्वीकृत भइसकेको सिफारिस समितिले जनाएको छ। स्वीकृत आवेदनदातामा ललितपुरका चन्द्रप्रकाश भट्ट, धनुषाका प्रमोदकुमार यादव, बझाङका डबलबहादुर धामी, कञ्चनपुरका खेमराज जोशी, कैलालीका शिवप्रसाद सापकोटा, कञ्चनपुरका डमरु पनेरु, बैतडीका गोविन्दसिंह बिष्ट, बाराकी शिला मैनाली, बैतडीका भीमबहादुर चन्द र कैलालीका पदमराज जोशी रहेका छन्।
सिफारिस समितिले उपकुलपति र रजिस्ट्रार दुवै पदका लागि आवेदन परेकामध्येबाट प्रस्तुतीकरण अन्तर्वार्ताका आधारमा सात जनाको छोटो सूची तयार गर्नेछ। त्यसपछि तीन जनाको नाम चयन गरी रजिस्ट्रार नियुक्तिका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गर्ने संयोजक अवस्थीले जानकारी दिए।







