

काठमाडाैं- ललितपुरमा रहेको बी एण्ड बी अस्पताल २८औं वर्षमा प्रवेश गरेको छ । हिजो एक कार्यक्रमकाबीच बी एण्ड बी अस्पतालले आफ्नो २७औं वार्षिकउत्सव मनाएको छ । सो अवसरमा संस्थापक जगदिश लाल वैद्यले निजी भएतापनि बी एण्ड बी नेपालको सबैभन्दा ठूलो अस्पताल रहेको बताए ।
३ सय बेड रहेको अस्पतालमा करिब एघार सय व्यक्तिले रोजगार पाएको वैद्यको भनाइ छ । जसमध्ये २ सयजना चिकित्सक र ४ सय नर्स लगायतका अन्य कर्मचारी रहेको उनले बताए ।
वैद्य एण्ड बास्कोटाको नामबाट परिचित बी एण्ड बी अस्पताल सुरुमा ५० बेडबाट सुरु गरिएको थियो । अहिले यो अस्पताललाई चरणवद्ध रुपमा विकास गरि चौथो चरणमा पुर्याइएको छ ।

डा वैद्यकाअनुसार अहिले यस अस्पतालमा २१ वटा शल्यक्रिया कक्ष रहेका छन् । यहाँ सरदर एक दिनमा ४० वटा तथा एक वर्षमा करिब १२ हजार शल्यक्रिया हुन्छन् । त्यो संख्या नेपालको सबैभन्दा बढी रहेको बताइएको छ ।
गरिब असहायका लागि विशेष सुविधा रहेको यो अस्पतालमा निःशुल्क बेडको सुविधा पनि रहेको तथा ललितपुर जिल्लाकै सबैभन्दा बढी कर तिर्ने अस्पताल रहेको उनी बताउँछन् । यहाँ जनरल बेडमा पनि सम्पूर्ण सुविधा रहेको छ ।
अहिलेको अवस्थालाई हेर्दा नेपालका खेलाडि तथा अन्य व्यक्ति दुर्घटना भएको अवस्थामा उपचारको रोजाइमा बी एण्ड बीलाई लिने गरेको डाक्टर वैद्यको भनाई रहेको छ । ‘यहाँ आर्थिक अवस्था न्यून भएका खेलाडीलाई निःशुल्क उपचार गरिन्छ’ उनले भने ।
अस्पतालमा कार्यरत कर्मचारीलाई खुसी राख्न सक्नु पूरै समय वा फूल टाइम डाक्टर राख्न सक्नु बी एण्ड बी को ठुलो उपलब्धि रहेको वैद्य बताउँछन् । ‘अस्पतालमा काम गर्ने कर्मचारी मेरै परिवार जस्तै भन्ने सोच रहेको छ’ उनले भने ।
यस अस्पतालमा ईमर्जेन्सी परेको अवस्थामा जस्तोसुकै उपचार पनि गरिने उनको दाबी छ । कार्डियोलोजी तथा न्यूरोलोजी लगायतका सम्पूर्ण सेवा सुविधा उक्त अस्पतालमा रहेको छ । अस्पतालम रोबोटिक सर्जरी पनि उपलब्ध रहेको छ । यो एक टिचिङ्ग अस्पताल पनि रहेको र यहाँ रोबोटिक सर्जरी पनि सिकाइन्छ उनले बताए ।
उनी भन्छन्, ‘रोबोटिक सर्जरी सिक्नको लागि धेरै विद्यार्थीहरु बाहिर जाने गर्छन् । त्यसको दश प्रतिशत मात्र रोक्न सकियो भने देशको लागि वैदेशिक मुद्रा बचाउन सकिन्छ ।’



