

काठमाडाैं- हाम्रो शारीरिक बनावट अनुसार शारीरिक समस्या वा हाम्रो शरीरमा लाग्ने रोग पनि फरक–फरक हुन्छन् ।
प्रोफेसर डाक्टर रामनन्दन प्रसाद चौधरीका अनुसार भर्खर जन्मेको बच्चादेखि १८ वर्षसम्मको उमेरमा गरिने सम्पूर्ण शल्यक्रिया सम्बन्धि कार्यलाई पिरियाडिक सर्जरी भनिन्छ । बच्चा जन्मेको २८ दिनसम्म गरिने शल्याक्रियालाई न्यूनेट्रल सर्जरी भनिन्छ । २८ दिनदेखि एक वर्षसम्म गरिने सर्जरी इन्फ्यान्ट हो । एक वर्षदेखि १४ वर्षसम्म पिरियाडिक सर्जरी र १४ देखि १८ वर्षसम्म गरिने शल्यक्रिया एडोलेसेन्ट सर्जरी हो ।
बच्चामा विभिन्न किसिमका सर्जरीहरू गर्नुपर्ने हुन्छ । आन्द्रामा आन्द्रा खप्टिने, आन्द्रामा प्वाल नहुने, खाना नली वा श्वास नलस् जोडिने, हर्निया हुने, पिसाब नालीमा समस्या हुने, मृर्गौलामा पनि जम्ने, दिशा नगर्ने जस्ता समस्याको शल्यक्रिया गर्नुपर्ने हुन्छ । बच्चामा एपेन्डिसाइटिस पनि हुने गरेको उनी बताउँछन् ।
बच्चा जन्मिनुभन्दा अगाडि पनि डाक्टरको सल्लाह अनुसार परीक्षण गराउनु पर्ने उनको भनाई रहेको छ । यसरी पहिले नै परिक्षण गराउँदा जन्मिनेवाला बच्चाको अवस्था कस्तो छ, बच्चा जन्मिदा राम्रो जन्मिन्छ कि जन्मिँदैन भनेर थाहा पाउन सकिन्छ ।
अहिले बच्चालाई पेट नचिरी गरिने शल्याक्रिया पनि उपलब्ध भएको उनी बताउँछन् । जसको कारण शल्यक्रियापछि छिटो घाउ निको हुने र दुखाइ पनि कम हुन्छ । उनी भन्छन् ‘अहिले बच्चाको पनि आन्द्रा, फोक्सो, नसा, मुटु, मृगौला, दाँत, लगायतका विभिन्न अंगका फरक फरक विशेषज्ञ डाक्टरहरू उपलब्ध रहेका हुन्छन् ।’



