

काठमाडौँ- भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अब क्लिनिकल फेलोसिप कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा नेपाल मेडिकल काउन्सिलको स्वीकृतिपछि केन्द्रले यही शैक्षिक सत्रदेखि ‘किड्नी ट्रान्सप्लान्ट सर्जरी’ र ‘रिनल ट्रान्सप्लान्ट मेडिसिन’ विषयको फेलोसिप सञ्चालन गर्ने भएको हो ।
मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतीशकुमार देवले केन्द्रबाट पेश भएका कागजात र काउन्सिलबाट भएको निरीक्षण प्रतिवेदनको आधारमा क्लिनिकल फेलोसिप कार्यक्रमका लागि स्वीकृति दिइएको बताए ।
केन्द्रका अनुसार अब मिर्गौला प्रत्यारोपण शल्यक्रिया विषयमा एकजना र मिर्गौला प्रत्यारोपण चिकित्सा विषयमा एकजनालाई गरी कुल दुईजनाका लागि एकवर्षे फेलोसिप कार्यक्रम सञ्चालन हुने बताएको छ ।



