काठमाडौं- यही भदौ ६ गते रुपन्देहीको देवदहमा तीजको दर खाँदा ‘फूड पोइजन’ भएर २ दर्जनभन्दा बढी महिला बिरामी परेका छन् । देवदह-६ शिवालय टोलका विभिन्न महिला समूह मिलेर दर खाएपछि महिलाहरु बिरामी परेका हुन् ।
देवदह-६ का वडाअध्यक्ष खेमबहादुर थापा मगरका अनुसार ६ गते साँझदेखि बिरामी परेका उनीहरुमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने लगायतका स्वास्थ्य समस्या देखिएका थिए । हाल केही उपचारपछि निको भइसकेका छन् भने केही उपचाररत छन् ।
के हो फूड पोइजन ?
दिनहुँ हामीले विभिन्न प्रकारका खानेकुरा खाइरहेका हुन्छौं । कहिलेकाहिं हामीले खाने खानाको तालमेल नहुँदा धेरै मानिस बिरामी पर्ने गरेका छन् ।
खानेकुरा मिठो पाएपछि हामी गुणस्तर बिचार नगरी वा स्वस्थ्य छ कि छैन भनेर बिचार नगरी खाने गर्छौं । यसरी जिब्रोको स्वादको लागि मात्रै खाँदा हामीलाई फूड पोइजन हुन्छ ।
अर्थात हामीले खाने खाना स्वस्थ्यकर नहुँदा हामीलाई फूड पोइजन हुन्छ । विभिन्न किसिमका व्याक्टेरियाहरू भएको खाना खाँदा हामीलाई फूड पोइजन हुन्छ । कैम्पिलोबैक्टर ट्रिचिनोसिस, क्लोस्ट्रीडियम, लिक्टेरिया, स्टेफिलोकोकस, इ.कोलाई साल्मोनेला जस्ता व्याक्टेरियाली हाम्रो शरीरमा खानाको माध्यमबाट प्रवेश गरेर फूड पोइजन गराउँछन् ।

फूड पोइजन विशेषगरी राम्रोसँग नपाकेका माछामासु दुध तथा दुधजन्य खानेकुरा खाएमा, बासी खाना खाएमा, फोहोर पानी पिएमा, खाना बनाउने भाँडा सफा नभएमा हुन सक्छ ।
यी बाहेक हाम्रो शरीरलाई चाहिनेभन्दा बढी खाना खाएमा, चिल्लो र मसालेदार खानेकुरा बढी खाएमा पनि फूड पोइजन हुनसक्छ ।
फूड पोइजनको घरेलु उपचार :
१. प्रशस्त पानी पिउने
२. मर मसलायुक्त खाना सकेसम्म नखाने
३. तेलमा तारेका खानाबाट बच्ने
४. सफा पानी प्रयोग गर्ने
५. तुलसी, जीरा, सौंफ, धनिया जस्ता औषधि प्रयोग गरेमा फूड पोइजन निको गराउन सकिन्छ
६. फूड पोइजन हो भन्ने थाहा भएमा स्वास्थ्य संस्थामा गएर उपचार गराउदा समयमै यसको समस्या समाधान गर्न सकिन्छ ।








