बैतडी- बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको छ । केन्द्रमा कार्यरत मेडिकल अधिकृत डा. शरद पाण्डेय राजीनामा दिएपछि प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहिन बनेको हो ।
प्राथमिक स्वास्थ्य केन्द्रमा छ महिना सेवा गरेका डा. पाण्डेलले गत असार अन्तिमबाट लागू हुने गरेर राजीनामा गरेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले बताए ।
डा. पाण्डे अन्य पालिकामा गएका छन् । पाटन नगरपालिकाले डा. पाण्डेललाई करार सेवामा राखेको थियो । पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएपछि पोष्टमार्टम लगायतका अन्य कामहरु रोकिएका छन् ।

चिकित्सकको अभावमा नागरिकलाई सेवा पाउन मुस्किल हुने बताइएको छ । स्वास्थ्य बीमा अन्तर्गतका सेवाग्राही लगायत अन्य बिरामीहरु पनि प्रभावित हुने पाटन प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
पाटन नगरपालिकाले करारमा मेडिकल अधिकृत राख्नका लागि अब विज्ञापन आह्वान गर्ने तयारीमा रहेको उपप्रमुख कमल सिह बोहरा (अपी)ले बताए । प्रमुख प्रशासकिय अधिकृत गणेश सिह ऐरी बिदामा भएकाले केही समय बढी लागेको बताइएको छ ।








