काठमाडाैं- रगत दियो भने रोग सर्छ अथवा कमजोर भइन्छ भन्ने मानिसको भिडमा १०६ पटकसम्म रक्तदान गरेका व्यक्ति पनि छन् । उनी हुन् कैलालीकाे धनगढी उपमहानगरपालिकाका दिपक उपाध्याय नेपाल । १०६ पटक रगत दिएर कैयौँ व्यक्तिको ज्यान बचाएका उनले रक्तदानका लागि प्रेरणा पनि दिइरहेका छन् ।
पछिल्लो पटक साउन २६ गते रगत दिएर १०६ पटक रक्तदान गरेकाे रेकर्ड राखेका उनले त्याे कार्य गर्ने प्रेरणा आफ्नो दाजुबाट मिलेको स्वास्थ्य डायरीलाई बताए । उनी मानिसमा अझै पनि रक्तदान गर्दा स्वास्थ्यमा कुनै समस्या हुने हो कि भन्ने चेतनाको कमी रहेको बताउँछन् । उनी भन्छन्, ‘ब्लड डोनेट गर्दा असहज महसुस हुन्छ भन्ने भ्रम मात्रै हो । स्वस्थ मानिसलाई ब्लड डोनेटले फाइदा पुग्छ ।’
उमेरले ४८ पुगेका उपाध्यायले १८ वर्षको उमेरदेखि रक्तदान गर्न सुरु गरेका हुन् । उनी प्रत्येक तीन/तीन महिनामा रक्तदान गर्छन् । पेसाले पत्रकार रहेका उनी हाल नेपालमा रक्तदाताहरूको खाँचो सधैं रहने भएकाले स्वस्फूर्त रुपमा रक्तदान गर्न आग्रह गर्छन् ।
सुदूरपश्चिममा ‘ब्लड बैंक’ भनेर चिनिएका उनलाई आपत्कालिन रगत चाहिँदा धेरैले सम्झिन्छन् । सम्पर्कमा आइसकेपछि उनी आवश्यक परेकाहरुलाई रगतको जाहो पनि गरिदिन्छन् । उनले सुदूरपश्चिममा मात्रै नभएर रेफर भएका बिरामीका लागि आफ्नो सम्पर्कबाट काठमाडौं, चितवन, नेपालगञ्जबाट रगत खाेजिदिन्छन् ।

पुरानो रगत मर्ने र नयाँ रगत उत्पादन हुने प्रक्रिया शरीरमा चलिरहने भएकाले ३ महिनाकाे फरकमा रक्तदान गर्न सकिने उपाध्यायकाे भनाइ छ । विभिन्न निकायबाट पटकपटक सम्मनित समेत भइसकेका उनले अहिले प्रदेश सरकारसँग मिलेर ‘निःशुल्क रगत’ अभियान सञ्चालन गरिरहेका छन् ।
तुलनात्मक रूपमा महिलाभन्दा रक्तदान गर्नेहरूमा पुरुषको संख्या बढी रहेको छ । महिनावारी भएको बेलामा महिलाको स्वतः रगत गइरहेको हुन्छ । गर्भवती वा सूत्केरी भएको अवस्थामा महिलालाई रगतको बढी आवश्यकता हुन्छ । त्यो बेलामा महिलालाई असहज महसुस हुन्छ, जसका कारण पुरुषको संख्या बढी हुन गरेकाे हो ।
नेपालका अस्पतालहरुमा पर्याप्त मात्रामा रगत नपाउनुको कारण जनचेतनाको कमी हो । व्यक्तिले आफ्नाे स्तरबाट पनि यस बारेमा प्रेरणा दिनुपर्छ । राज्यले विद्यालयस्तरमै रक्तदान सम्बन्धी ज्ञान पाठ्यपुस्तक वा विषयवस्तुमा समावेश गर्नुपर्छ ।








