

काठमाडौँ : पछिल्लो समय रौतहटमा एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षमा जिल्लाको १८ स्थानीय तहमा कुल सङ्क्रमितको सङ्ख्या ४७४ पुगेको हो ।
त्यस अघिको आर्थिक वर्ष २०७९–०८० मा एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या मात्र ३३२ रहेको थियो । एक वर्षको अवधिमा जिल्लाभरिमा १४२ जना एचआइभी एड्स सङ्क्रमित बढेको सङ्क्रमितहरूको रोकथाम तथा सचेतना सम्बन्धी काम गदै आएको सप्तरंगी नेपाल चन्द्रनिगाहपुरकी संयोजक जिना राना मगरले बताएकी छिन् ।
सबैभन्दा बढी राजपुर नगरपालिकामा एचआइभी एड्स सङ्क्रमित देखिएको छ । राजपुरमा ६३ जना सङ्क्रमित रहेको संयोजक मगरले जानकारी दिएकी छिन् । दोस्रोमा इशनाथ नगरपालिकामा अहिलेसम्म ५२ जना सङ्क्रमित रहेका छन् ।
चन्द्रपुर नगरपालिकामा अहिले सम्म ३७ जना सङ्क्रमित रहेका छन्। यसैगरी गौर नगरपालिकामा ३५ , गुजरामा २० जना,फतुवा विजयपुरमा १० ,कटहरियामा २०, बृन्दावनमा १०,गढीमाई मा ११ जना सङ्क्रमित रहेको संयोजक रानाले जानकारी दिइन् । यस्तै माधव नारायण नगरपालिकामा १२, गरुडामा १९, देवाही गोनाहिमा २०, मौलापुरमा १५, बौधीमाइमा २०, परोहामा २५, राजदेबी नगरपालिकामा २५ र यमुनामाइ २१, दुर्गाभगवती गाउँपालिकामा २० जना तथा अन्य ३४ जना गरी रौतहटमा ४ सय ७४ जना सङ्क्रमित रहेको तथ्याङ्कमा उल्लेख गरेको छ ।
२०७१ साल यता जिल्लामा एचआइभी एड्स रोगको कारण ४२ जनाको मृत्यु भएको प्रादेशिक अस्पताल गौरका एचआइभी एड्स शाखाका प्रमुख शेष असरफ अलीले जानकारी दिएका छन् ।
जिल्लाको दक्षिणीभेग भारतीय सीमासँग जोडिएको राजपुर, ईशनाथ नगरपालिकाका अधिकांश युवाहरू रोजगारीको लागि भारतको कलकता, मुम्बई, दिल्ली लगायतका सहरहरूमा जाने गरेको र उक्त भारतीय सहरहरूमा खुल्ला वेश्यावृत्ति हुने गरेको कारण एचआईभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको जानकारहरूको ठम्याई रहेको छ ।



