

कैलाली- धनगढीको निसर्ग अस्पतालमा युवतीको मृत्यु प्रकरणमा डाक्टर ओमप्रकाश भट्टलाई कारबाही गर्ने सहमति भएको छ ।
डाक्टर भट्टलाई निर्सग अस्पतालबाट बर्खास्त गर्ने, मेडिकल काउन्सिलमा कारबाही सिफारिसको लागि पत्र पठाउने र डाक्टरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने सहमति भएको छ ।
भट्टले गलत औषधी प्रयोग गर्दा धनगढी उपमहानगरपालिका १ की २२ वर्षीया लक्ष्मी जोशीको मंगलबार राति मृत्यु भएको थियो ।
डाक्टरको लापरबाहीले गर्दा नै बिरामीको मृत्यु भएको भन्दै आफन्तले आज दिनभर अस्पतालमा आन्दोलन गरेका थिए ।
मृतकका अंकल हेमराज जोशीले उपचारमा संलग्न डाक्टरलाई कारबाही गर्ने सहमति भएको बताए ।
सामान्य पेट दुखेर राति १२ बजे अस्पताल भर्ना भएकी उनको तीन घण्टाको फरकमा उपचारको क्रममा मृत्यु भएको थियो ।
जोशी हेल्थ असिस्टेन्ट पढ्दै गरेकी थिइन् । उनी धनगढीकै नवजीवन अस्पतालमा ‘ओजेटी’ गरिरहेकी थिइन् ।


