

काठमाडौं : नेपालमा मस्तिष्क मृत्यु भएकाको अङ्गदानबाट १३ जनाले स्वस्थ जीवन बिताइरहेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डा पुकारचन्द्र श्रेष्ठका अनुसार मिर्गाैला र कलेजो फेल भई केन्द्रमा उपचार गराउन आएकामध्ये मृतकको अङ्गदानबाट १० जनाको मिर्गाैला र तीन जनाको कलेजो प्रत्यारोपण गरिएको थियो । उनीहरू अहिले स्वस्थ जीवन बिताइरहेका छन् ।
प्रा डा श्रेष्ठले जीवित र मृत शरीरबाट निकालिएको मिर्गाैला, कलेजो र मुटु तथा अन्य अङ्ग एक हजार तीन सय जनामा प्रत्यारोपण गर्दा ९९ प्रतिशत सफल भएको बताए ।
नेपालमा अङ्ग प्रत्यारोपणको काम सन् २००८ मा वीर अस्पतालबाट भएको र शिक्षण अस्पतालबाट मिर्गाैला प्रत्यारोपणबाट सेवा सुरु भएको थियो । मिर्गाैला प्रत्यारोपण सेवाको सुरुवातमा ९० प्रतिशत सफल भएकामा अहिले शतप्रतिशत सफल भएको उनको भनाइ छ ।
नेपालमा सन् १९९८ मा नेपालमा जीवित दाताबाट सीमित नातेदारहरूभित्र मिर्गाैला प्रत्यारोपण गर्न सक्ने कानुन निर्माण गरिएको थियो । मानव अङ्ग प्रत्यारोपण ऐन २०७२ अनुसार ५१ वटा नाता पर्ने जीवित व्यक्तिहरूले अङ्गदान दिन सक्ने कानुनी व्यवस्था छ । नेपालको कानुनले मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदानबाट हुने प्रत्यारोपणलाई पनि वैधानिकता दिएको छ ।
नातेदार नपरेकाको हकमा दुई वा दुईभन्दा बढी परिवारबीच साटासाट गर्न सक्ने व्यवस्था छ । मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदान गरि प्रत्यारोपण गर्नेमा स्पेन अगाडि रहेको उनले बताए । नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदानका लागि सम्बन्धित व्यक्तिले जीवितै रहँदा मञ्जुरी दिएको हुनुपर्छ । मृत्यु भएकाको परिवारको सहमतिमा पनि दिन पाउने कानुनी व्यवस्था छ ।
हालसम्म दुई हजार पाँच सय जनाले अङ्गदान गरिसकेका छन् ।



