

कैलाली : कैलालीकाे सेती प्रादेशिक अस्पतालमा केही सातादेखि सिकलसेल एनिमियाका बिरामी बढ्न थालेका छन् ।
पश्चिम नेपालको तराईमा बसोबास गर्ने थारु समुदायमा मात्र देखिने सिकलसेलको उपचारको लागि सरकारले एक लाख रुपैयाँ सहयोगको पनि व्यवस्था गरेको छ । तर, सिकलसेलका विरामीको स्वास्थ्य परीक्षणको लागि छुट्टै युनिट नभएका कारण समस्या भएको सेती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरुको भनाई छ ।
सेती प्रादेशिक अस्पतालमा हालसम्म सिकलसेलका ९ सय ४९ जना बिरामी दर्ता भएका छन् । हाल दैनिक २५ देखि ३० जना बिरामी स्वास्थ्यजाँचको लागि आउने गरेको अस्पतालले जनाएको छ । तर, सेती प्रादेशिक अस्पतालमा सिकलसेलका बिरामीको लागि छुट्टै जाँचकक्ष छैन । छुट्टै जाँच युनिट नभएका कारण सिकलसेलका बिरामीहरुले अरु बिरामीसँगै लाइनमा बस्नु पर्ने बाध्यता छ ।
सेती प्रादेशिक अस्पतालमा कैलालीका ६ सय ८५ र कञ्चनपुरका २ सय ६४ जना सिकलसेलका बिरामी दर्ता रहेका छन्। तीमध्ये ४ सय ६९ जना पुरुष र ४ सय ८० जना महिला बिरामी छन् ।
थारु समुदायमा देखिने सिकलसेल संक्रमितलाई उपचारको दायरमा ल्याउन सुदूरपश्चिम प्रदेश सरकारले गाउँवस्तीमै गएर स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको छ ।


