

बाजुरा : बाजुराको कोल्टी आधारभूत अस्पतालमा आवश्यक भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा समस्या हुँदै गएको छ । यहाँका स्थानीयको माग अनुसार २०८० मा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई कोल्टी आधारभूत अस्पताल सञ्चालनमा ल्याएपनि सोही अनुसारको भौतिक पूर्वाधार नहुँदा बिरामीको सेवा प्रवाहमा समस्या हुँदै आएको हो ।
उपचारका लागि आउने गरेका सघन उपचारका बिरामीलाई व्यवस्थित कक्ष नहुँदा उपचार गर्न निकै समस्या भएको कोल्टी आधारभूत अस्पताल बाजुराका मेडिकल अधिकृत प्रतीक न्यौपानेले बताए । यहाँ आएका कतिपय बिरामीलाई यतै निको पार्ने सीप र क्षमता भए पनि सोही अनुसारको स्वास्थ्य सामग्रीको पहुँच नहुँदा रिफर गर्नु परेको डा. न्यौपानेले बताए ।
पहिला स्वास्थ्य चौकीको रूपमा रहेको यो अस्पताल २०६३ सालमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र हुँदै कोल्टी आधारभूत अस्पतालको रूपमा सञ्चालनमा आएको हो । दुर्गमका स्थानीयलाई गाउँमै सेवा दिने गरी स्थापना गरिएको यो अस्पतालमा भौतिक पूर्वाधार र दक्ष जनशक्तिको निकै अभाव छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई पछिल्लो समय आधारभूत अस्पतालको रूपमा सञ्चालन गरेसँगै भौतिक पूर्वाधार र दक्ष जनशक्तिको पनि अभाव हुँदै गएको हो ।
पुरानो तथा जीर्ण बन्दै गएका स्वास्थ्य केन्द्रका भवनमा सेवा प्रवाह गर्दै आएको छ । पुरानो भवनका कोठा धेरै साना छन् । यहाँ बिरामीलाई भर्ना गर्ने ओपिडी कक्ष तथा अप्रेसन थ्रेटर छैन । सघन उपचार गर्नुपर्ने बिरामीहरूलाई यहाँ व्यवस्थित गर्ने कक्ष नहुँदा बाहिर रिफर गर्नु परेको डा. न्यौपानेले बताए । बाजुराको पूर्वी क्षेत्रमा रहेका हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा र मुगु, जुम्ला र हुम्ला समेतका बिरामी कोल्टी आधारभूत अस्पतालमा आउने गर्दछन् ।



