

सुर्खेत : सुर्खेत र सल्यानका ३८.९ प्रतिशत नागरिकमा कान कम सुन्ने समस्या रहेको पाइएको छ । नेपालमै पहिलोपटक कर्णाली प्रदेशका सुर्खेत र सल्यानमा गरिएको श्रवण क्षमता ह्रासको व्यापकता र कारणहरुको अध्ययन (२०२४) ले यहाँका नागरिकहरुको श्रवण क्षमताको अवस्था पत्ता लागेको हो ।
जर्मन सहयोगमा सिबिएम नेपालले गरेको यस अनुसन्धानले सर्खेत र सल्यानका अधिकांश मानिसमा विभिन्न कारणले श्रवण क्षमता ह्रास हुँदै गएको देखाउँछ । नजिता अनुसार सुर्खेत र सल्यानका गरी दुई हजार एक सय ४८ व्यक्ति अनुसन्धानको क्रममा सहभागी भएका थिए । जसमा ४१.२ प्रतिशत पुरुष र ५८.८ प्रतिशत महिला सहभागी थिए ।
अनुसन्धानको क्रममा कानको नली सुन्निएको, बाहिरी कानको संक्रमण, कानको हड्डी खिइने रोग, घोचेर वा कुनै घटनाबाट कानमा असर, कानभित्र बाहिरी वस्तुहरु छिरेको, बाहिरी कानको बनोट राम्रो नभएको, फन्गल इन्फेक्सन, कानको बाहिरी र भित्रि भागका पिप बग्ने, मध्य कानको सङ्क्रमण, कानको जालीमा प्वाल, कानेगुजी टासिको अवस्था, कान र नाक जोड्ने नलिमा समस्या र कानभित्रको हावाको चापमा गडबडी समस्या भएका व्यक्तिहरु भेटिएका भिए ।


