

काठमाडाैं : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले निर्देशिका विपरीत छात्रवृत्ति वितरण गरिएको पाइएको छ । चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति सम्वन्धमा एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका २०७६ मा चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति अन्तर्गत चिकित्सा शिक्षा आयोगबाट प्रदेशभित्रका दलित, आदिवासी, जनजाती, सीमान्तकृत, लोपोन्मुख समुदाय, पिछडीएको क्षेत्र जेहेन्दार विद्यार्थीलाई प्राथमिकताका साथ छात्रवृत्ति गरिने उल्लेख छ ।
छनोट भएका विद्यार्थीहरुले प्रमाण पेस गरेपछि सम्वन्धित शैक्षिक संस्थाको खातामा छात्रवृत्ति रकम उपलब्ध गराइने, छात्रवृत्तिका लागि छनोटको आधार, तोकिएबमोजिक हुने लगायतका व्यवस्थाहरु छन् । तर मन्त्रालयले एमबिबिएस अध्ययनरत विद्यार्थीलाई १० लाख अनुदान रकम भुक्तानी गर्दा निर्देशिका विपरीत सम्वन्धित शैक्षिक संस्थाको बैंक शाखामा रकम दाखिला नगरेर सोझै विद्यार्थीको खातामा दाखिला गरेको महालेखा परीक्षकको कार्यालयले जनाएकाे छ ।
साथै छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्दा दलित, आदिवासी, जनजाती, सीमान्तकृत, लोपोन्मुख समुदाय, पिछडीएको क्षेत्रका जेहेन्दार विद्यार्थीलाई प्राथमिकताका आधारमा छनोट हुनुपर्नेमा छनोट भएका ९ विद्यार्थी उल्लेखित समुदायभन्दा अन्य समुदायको रहेको समेत फेला परेको छ ।
यस्तो कार्यक्रमले लक्षित समुदायका छात्रछात्रालाई विद्यालय तह र उच्च शिक्षामा अध्ययन गर्न उत्प्रेरित गरे नगरेको विषयमा अनुगमन समेत गरिएको छैन । छात्रवृत्तिले पारेको प्रभाव अध्ययन गरेर लक्षित समुदायका छात्रछात्रालाई सशक्तिकरण गर्नुपर्नेमा कुनै काम हुन सकेको छैन ।


